अर्थ/बाणिज्य

पर्वतको पैंयू गाउँपालिकाबाट करदाता सम्वन्धि सेवा शुरु

By लोकतन्त्र अनलाईन

April 07, 2026

पर्वत २४ चैत : पर्वतको पैयूँ गाउँपालिकाबाट आन्तरिक राजश्व सम्वन्धि करदाता सेवा शुरु भएको छ ।

यसअघि करदाता सेवा कार्यालय पर्वत र आन्तरिक राजश्व कार्यालय मार्फत ंसंचालन हुँदै आएका सेवा पैंयू गाउँपालिकामा सोमवारदेखि शुरु भएको हो । आन्तरिक राजश्व कार्यालयवाट प्रवाह हुने सवैखाले सेवा जिल्लाका सात स्थानीय तहमध्ये पैंयू गाउँपालिकाले पहिलोपटक शुरुवात गरेको हो ।

सेवा सञ्चालनका लागि सोमवार गाउँपालिका र आन्तरिक राजश्व कार्यालय बागलुङबीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ । पहुँच र सहजताको नयाँ सुरुवात सम्झौता अनुसार अब पैयूँका बासिन्दाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर दर्ता, बायोमेट्रिक, राजस्व दाखिला तथा अन्तःशुल्क इजाजतपत्र नवीकरण जस्ता महत्वपूर्ण सेवाहरू आफ्नै गाउँपालिकाबाट पाउन थालेका छन् ।

पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले नागरिकलाई घरदैलोमै सरकारी सेवा पुर्‍याउनुनै वास्तविक संघीयता भएको बताउनुभयो । ठकुरीले भन्नुभयो, “संघीयता भनेकै नागरिकले आफ्नै दैलोमा सरकारको उपस्थिति महसुस गर्नु र सामान्य कामका लागि पनि केन्द्र धाउनुपर्ने बाध्यता हट्नु हो । अबदेखि यस क्षेत्रका व्यावसायी र सर्वसाधारण पान नं. दर्ता र राजश्व बुझाउनका लागि मात्रै ठूलो खर्च गरेर सदरमुकाम वा बागलुङ जानुपर्ने सास्ती अब अन्त्य भएको उहाँले बताउनुभयो ।

आन्तरिक राजवश्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले कर प्रशासनलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउने सरकारको नीति अनुसार पैयूँमा यो सेवा विस्तार गरिएको जानकारी दिनुभयो । सिलवालले भन्नुभयो, “स्थानीय सरकारसँगको सहकार्यमा हामीले करदातालाई सहज बनाउन खोजेका हौं । अबदेखि प्यान दर्तादेखि अन्तःशुल्क नवीकरणसम्मका सबै प्राविधिक कार्यहरू यहीँबाट सुरु हुनेछन् ।“

आन्तरिक राजश्व कार्यालय बागलुङसँग सम्झौता लगत्तै सोमबारदेखीनै यी सेवाहरू सुचारु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीन गैरेले जानकारी दिनुभयो । यो व्यवस्थाबाट विशेषगरी स्थानीय व्यावसायी, शिक्षक, कर्मचारी र साना उद्यमीहरू प्रत्यक्ष लाभान्वित हुने उहाँले बताउनुभयो । गाउँपालिकाले सम्पूर्ण सेवाग्राहीलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई सेवा लिन आह्वान गरेको छ । अब गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायीक स्थायी लेखा नम्वर जारी गर्ने, संशोधन गर्ने, रुपान्तरण जस्ता सवै कार्यहरु हुने गैरेले जानकारी दिनुभयो ।