प्रमुख समाचार

पर्वतमा नेकपाको जागरण अभियान शुरु

By लोकतन्त्र अनलाईन

November 02, 2026

पर्वत– नेपाली कम्युनिष्ट पार्टी पर्वतले दुई महिने जागरण अभियान शुरु गरेको छ । सदरमुकाम कुश्माको पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती पौडेलले अभियान शुभारम्भ गर्नुभयो ।

समसामयिक राजनीतिक घटनाक्रमका सन्दर्भमा नागरिक तहमा पार्टीको धारण पुर्‍याउने, जनताका समस्या, अपेक्षा, गुनासा सुन्ने, सदस्यता नविकरण र विस्तार, संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि अभियान सञ्चालन गरिएको नेकपाका केन्द्रिय सदस्य पौडेलले बताउनुभयो ।

“नेकपाको राजनीतिक मुद्दामा देशमा राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता, समावेशी सहित नागरिकका मौलिक हकअधिकारको सुनिश्चित गर्ने संविधान बनेका कारण अहिले नेपालीले स्वतन्त्र रुपमा आफ्ना अभिव्यक्ति दिन पाएका छन,” उहाँले भन्नुभयो “हाम्रा कमजोरीको समिक्षा गर्दै शुसासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दालाई सफल बनाउन जनमत सिर्जनाका लागि दुई महिने अभियान सञ्चालन गरिएको हो ।”

पर्वतको दुई वटा प्रदेशसभा र सात वटै स्थानीय तहमा नेताहरुको जिम्मेवारी विभाजन र कार्ययोजना बनाएर अभियानलाई ब्यवस्थित रुपमा सञ्चालन गरिने नेकपाका केन्द्रीय सदस्य नेत्र अधिकारीले बताउनुभयो । विपद् प्रभावित पर्वतमा राहत र पुनःनिर्माण कार्यमा अभियान जोडिने उहाँको भनाई छ । “अब जनप्रतिनिधी हुनका लागि पार्टी र नेताले होइन्, मतदाताले पत्याउनुपर्छ भन्ने बुझेर स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्छ,” उहाँले भन्नुभयो “गरेका काम र उपलब्धीको प्रचारका साथै सिर्जना गरिएका भ्रमको ब्यवहारिक खण्डन गरि नागरिकलाई स्पष्ट पार्नुपर्छ ।”

अभियानका क्रममा जनताको घरमा श्रमदानदेखि नागरिकका गुनासा समेटेर ज्ञापन पत्र बुझाउने र सरकारका गलत कामहरुको खबरदारी सम्मका कार्यक्रम संचालन गरिने भएको छ ।