प्रमुख समाचार

आवेगी पुस्ताको अविवेकी यात्रा

By लोकतन्त्र अनलाईन

December 29, 2025

✍️ राजकुमार निरञ्जन

ग्रिक दार्शनिक सोक्रेटिसको एउटा भनाई मलाई ज्यादै गहन लाग्छ । ” म संसारको सबैभन्दा ज्ञानि मान्छे हुँ किनकी मलाई म अज्ञानि छु भन्ने कुरा थाहा छ ” भन्ने सोक्रेटिसको भनाईले निकै ठूलो अर्थ बोकेको छ । आजको पुस्ताले यति हतार र आवेग बोकेर हिडेको छ कि मानौँ आजको पुस्ताको धर्म कर्म नै हतार र आवेग बोकेर हिड्नु मात्रै हो । आजको पुस्ताले आफुलाई ” अल्गोरिदम ” सङ्ग अभ्यस्त बनाउछ र आफू ज्ञानि भएको अहंकार पालेर हुँकार निकाल्छ । वास्तवमा ” अल्गोरिदम ” सङ्ग अभ्यस्त हुनु समयको आवश्यकतासङ्ग तादाम्य मिलाउनु मात्रै हो न कि ज्ञानि हुनु होईन । ज्ञानि मान्छे त्यो हो जसलाई आफु अज्ञानि छु भन्ने बोध हुन्छ त्यसैले त सोक्रेटिसले सभ्यता र दर्शनको सुरुवाती कालखण्ड मै आफुलाई अज्ञानि छु भन्ने बोध गराएर ज्ञानिको परिभाषा दिएका थिए । अज्ञानताको बोध हुनु नै खोज र सिकाई दुवैको मार्गमा हुनु हो ।

गुरुत्वाकर्षणको नियम पत्ता लगाउने बैज्ञानिक आईज्याक न्युटनको अर्को मननयोग्य भनाई छ जुन भनाईलाई आजको पुस्ताले घनिभुत मनन गर्नुका साथै स्विकार पनि गर्नुपर्छ । ” म यसकारण अग्लो छु कि मैले मेरा पुर्खाहरुको काधँमा टेकेको छु ” भन्ने भनाईलाई आजको पुस्ताले पटक्कै बेवास्ता गर्नु हुदैन । आजसम्मका जतिपनि मानविय उपलब्धि छन ती सबै अघिल्लो पुस्ताको देन र पछिल्लो पुस्ताको निरन्तरताको उपज हो । अगिल्लो पुस्ताको अनुभवले आजका सफलतालाई आकार दिएका हुन । अघिल्ला पुस्ताका असफलताका अनुभव आजको पुस्ताको सफलताको मार्गनिर्देशक बनेका पनि छन ।

” रोम एकै दिनमा बनेको होईन ” भन्ने अर्को एउटा रोमन दार्शनिक क्याटुलसको भनाई पनि निकै मननयोग्य छ । कुनै पनि निर्माणका काम र परिवर्तनका लहर एकैदिनमा बन्दैनन । जसरी बनेका थिएनन ग्रीक सभ्यता र मेसोपोटामियाको सभ्यता । जसरी बनेका थिएनन रोमन साम्राज्य र माया सभ्यता । निर्माण प्रक्रिया लामो शृङ्खलामा चल्दछन । देश पनि एकैदिनमा बन्दैन न त देश आवेग र हतासले नै बन्दछ । परिवर्तन एकैछिनमा हुदैन किनकी परिवर्तन हुनको लागि पहिला आवश्यकता खड्किनु पर्छ र सङ्गै परिवर्तनको संयम प्रयात्न चल्नुपर्दछ । ज्ञानको अहंमता पालेर र भिडको आवाज फालेर पनि वास्तविक परिवर्तन सम्भव छैन । परिवर्तनले पनि संयमी यात्रा खोज्दछ ।

देखासिकी आजको दिनमा लहर बनेको छ । आजको पुस्ताले भिडले बोल्ने कुरालाई सत्य मानेर समात्न थालेको छ र आत्ममुग्धतामा रमाउन थालेको छ । आजको पुस्ताले सत्यको उत्खनन गर्न भन्दा पनि ” भाईरलिजम ” र ” पपुलारिजम ” मा रम्न थालेको छ । आजको पुस्ताले भाईरल र पपुलर हुनको लागि विवेकका आखाँलाई आफैले अन्धो बनाएको छ । नशामा रम्नु र ” प्रोपोगन्डा ” फैलाउनुलाई चरम आनन्द मान्दछ त्यसैले त हाम्रो समाजको सास्कृतिक पाटो स्खलित हुँदै गएको छ । एकप्रकारले आजको पुस्ता ” नार्सिसिस्ट ” भएको छ । भाईरल हुने भाव पाल्नु , पपुलर हुने ईच्छालाई हुर्काउनु , नशामा रम्नु र प्रोपोगन्डा फैलाउनु जस्ता क्रियाकलापले क्षणिक रुपमा समाज र ब्यक्तिलाई फाईदा होला तर दीर्घकालमा यस्तो प्रवृति समाज र ब्यक्ती दुवैको लागि घातक नै हुन्छ ।

हतारपन आफैमा संयमी यात्रा होईन । हतारी पुस्ता आफैमा स्थायि समृद्धिको निर्माणकर्ता बन्न सक्दैनन । यथास्थितिलाई चिर्नको लागि दुरसम्मको दृष्टि र निरन्तर चलिरहने विवेकी यात्रा चाहिन्छ । हतारमा छुटिएको देखिदैन । हतारमा विभेद देखिदैन । हतारमा भुँईमा को छ भन्ने कुरा पनि देखिदैन । हतारमा केवल काल्पनिक गन्तव्य देखिन्छ र हतारको यात्रा हुन्छ । हतारपनले कुनै संयमताको सस्कृती मान्दैन न त हतारपनले कुनै मुद्दालाइ उठाएर स्थापित गराउदछ । हतारपनले त केवल हातमा मोबाइल लिन्छ र तथानाम गाली गर्छ र असन्तुष्टि ब्यक्त गर्दछ ।

आजको दिनमा किताब पढ्नु त्यति ठूलो कुरा नहुन सक्छ जति ठूलो कुरा समाज , देश र परिस्थिति पढ्नु हुन सक्छ । समाज नपढ्नेहरुले जति नै ठूलो आवाज लिएर चिच्याए पनि त्यो आवाजले परिवर्तनसङ्ग तादाम्यता मिलाउ सक्दैन। देश नहेरी विदेश हेरेर विदेश कै भाषा बोल्नेले र शैली अपनाउनेले पनि आफ्नै देशको माटोलाई छुन सक्दैन र छोएको हुदैन । देशलाई छुन देशको माटो छुनु पर्छ र चिन्नु पर्छ । देशको माटो चिन्न संयम भएर देश कै बाटोमा हिड्नु पर्छ तब न त विवेकी यात्रा हुन्छ । विवेकी यात्रा गरे पो त चाहेको समृद्धि भेटाउन सकिन्छ ।

संस्कृतिको निर्माणले परिवर्तनलाई आह्वान गर्ने हो । जापान , अमेरिका र रसिया जस्ता देश बिकसित हुनुको कारण मध्ये एउटा कारण संस्कृतिको निर्माण र विश्वभर प्रचार र प्रवर्द्धन गर्नु हो तर बिडम्बना आजको नयाँ नेपाली पुस्ताले ” गाली संस्कृति ” को निर्माण बाहेक अर्को सस्कृति निर्माण गरेको छैन र संयमी सस्कृतिको निमार्ण बहस पनि गर्दैन । आजको पुस्ता बढी जसो अरुलाई सत्तोसराप गाली गर्छ र अरुका कमजोरी खोजेर प्रोपोगन्डा फैलाउछ एवम भ्रम फैलाउछ । आजको पुस्ताले सिर्जनाको क्षेत्रमा कम गालिमा धेरै मानसिक शक्ति खर्च गरेको छ ।

परिवर्तनको लहर सानै प्रयात्नले पनि चल्न सक्छ । हिजोको ब्यवस्था परिवर्तनको आन्दोलन चल्दै गर्दा ” गाउँ गाउँबाट उठ , बस्तीबाट उठ ” भन्ने गितले कति ठूलो सकारात्मक लहर चलाएको थियो भन्ने कुरा आजको पुस्ताले हेक्का सम्म राख्दैन । कृष्णलाल अधिकारीको  ” मकैको खेती ” भन्ने पुस्तकले सिङ्गो राणा शासनलाई हल्लाएको ईतिहास आजको पुस्ताले कमै जान्दछ । कृष्णसेन ईच्छुकका कविताहरुले , आहुतिका कविताहरुले , खगेन्द्र सङ्ग्रौलाका कृतिहरुले , जीवन शर्माका गितहरुले र जे.बी टुहुरेका गितहरुले कसरी सत्तालाई चुनौती दिएका थिए भन्ने कुराबारे आजको पुस्ता बेखबर थिए । आजको पुस्ताले मार्गरेट थ्याचर , मलाला युसुफजाई , जसिन्ता केरकेट्टा र सुन्दर बहुगुणी  जस्ता संयमी क्रान्तिकारिलाई चिन्दैन । आजको पुस्ता बस डिजेका धुनमा र अश्लिल र्‍यापमा झुम्न मात्रै जानेको देखिन्छ ।

यतिबेला विश्व जलवायु परिवर्तनको आक्रान्तमा छ । वास्तवमा हाम्रो पहिलो मुद्दा त ” सेभ अर्थ वा सेभ ईकोलोजी ” हुनुपर्थ्यो । पर्यावरण रहे पो त मान्छे रहन्छ र परिवर्तनका आन्दोलन चलाउन सकिन्छ । पर्यावरण नै नरहे आन्दोलनको के अर्थ ? पर्यावरण नै संकटमा भए भावी पुस्ताको हबिगत के ? आजको पुस्ताले पर्यावरणको दोहनलाई रोक्नको लागि ठूलो अभियान चलाउनुपर्ने जरुरी देखिन्छ तर बिडम्बना आजको पुस्तालाई न पर्यावरणको वास्त छ न त त्यसले निम्ताएको संकटबारे वास्त छ बरु आजको पुस्ता उल्टै पर्यावरण दोहन गर्न हौसिएको देखिन्छ ।

वर्तमान समयमा विश्वका अधिकांश देश भुमण्डलिकृत राजनितिको चपेटामा छन । नेपाल त झन भुमण्डलिकृत राजनितिको ठूलो चपेटामा छ । दुई शक्तिशाली राष्ट्र भारत र चिनका बिचमा हुनु र अमेरिका र रशिया जस्तो शक्तिशाली राष्ट्र एवम साम्राज्यवादी राष्ट्रको निशानामा हुनुले गर्दा नै नेपालले अझ संयम एवम सन्तुलित तबरले कदम चाल्नुपर्ने देखिन्छ । पछिल्लो समयमा नेपालमा भएको जेन जि आन्दोलनका घटनाक्रम हेर्दा पनि कहि न कहि बाट विदेशि कै योजना मै भएको देखिन्छ । यस्तो संकटका घडिमा युवा पुस्ताले जोशमा होईन होशमा काम एवम निर्णय गर्नुपर्ने देखिन्छ तर युवा पुस्ताहरु पनि सत्ता र शक्तिको खेलमा ज्यान दिएर लागेको देख्दा अझै अर्को ठूलो संकट आउने खतरा पनि बढिरहेकै छ । नयाँ पुस्ताले घटनाक्रमको अन्तर्य बुझ्दैन केवल उ समकालीन समयका क्रियाकलापलाई आधार बनाएर निर्णय गर्दछ जसले गर्दा थप संकट पैदा गरे जस्तो देखिन्छ ।

” कन्स्पिरेसी थ्योरी ” मा मस्तमगन पुस्ता यथार्थको धरातलमा उभिन सक्दैन र यस्ता थ्योरिले बिकास गरेका अनौपचारिक उपलब्धि हासिल गर्ने सपना देख्दछ । आजको नयाँ पुस्ताको प्रमुख समस्या नै ” कन्स्पिरेसी थ्योरी ” मा रमाउनु हो । हातमा विज्ञान बोकेर मस्तिष्कमा अलौकिक शक्ति भएको मसिहालाई खोज्छ र विराजमान गराउदछ आजको पुस्ताले । परम्परावादको भाष्यलाई शिरोपर गरेर परिवर्तनको दौडमा होमिएको पुस्ताले समाज कस्तो बनाउला ? देश कस्तो बनाउला ? आजको दिनमा यस्ता प्रश्नहरु पेचिलो बन्दै गएको देखिन्छ ।

देश बनाउन आवेगलाई नियन्त्रण गर्न जरुरी छ । देश बनाउन हतारलाई नियन्त्रण गर्न जरुरी छ । आजको नयाँ पुस्ताले धैर्य , संयमता , गहनता र सह अस्तित्वको गुण बिकास गर्नु जरुरी छ । उमेरलाई आधार मानेर हेर्ने हो भने आजको नयाँ पुस्तामा सम्भावना धेरै छ । यो नयाँ पुस्ताले धैर्य र संयमताको बाटोमा हिड्ने हो भने समृद्धिको लहर पनि आउछ त्यसैले नयाँ पुस्तामा नयाँ जोशसङ्गै नयाँ चेतना वा विवेक आउनु जरुरी छ ।