
पर्वत– संघीय निजामती ऐन जारी लगायत विभिन्न ११ बुँदे माग राख्दै पर्वतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख देवराज घिमीरेलाई ज्ञापनपत्र बुझाएका छन् ।
संघ प्रदेश र स्थानीय तहको अन्तरसम्वन्ध कायम हुनेगरी पेशागत हकहित र अधिकारका लागि राष्ट्रिय स्तरका ट्रेड यूनियन र आधिकारीक टे्रेड यूनियनको व्यवस्था हुनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा समेटिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन पर्वतका अध्यक्ष दिपक सुवेदी, नेपाल निजामती कर्मचारी यूनियन पर्वतका अध्यक्ष अर्जुन चापागाई र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन पर्वतका अध्यक्ष उमेश सापकोटाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेलाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको हो ।
ऐन जारी नहुँदा निजामती कर्मचारीहरुको हक अधिकार सुनिश्चिदेखि सरुवा, बढुवा लगायतका थुप्रै समस्याहरु सिर्जना भएको भन्दै संसदको चालु अधिवेशनमै उक्त ऐन जारी गर्नका लागि दबाबस्वरुप देशभरवाट ज्ञापनपत्र पेश गरिएको नेपाल निजामती कर्मचारी संगठन पर्वतका अध्यक्ष दिपक सुवेदीले जानकारी दिनुभयो ।