पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर पछिबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएका बृद्ध दम्पती दुवैको शव भेटिएको छ ।
स्थानीयवासी र सुरक्षा निकायले पहिरो पन्छाएर खोजी गर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन् । घरधनी छविलाल विश्वकर्माको शव भेटिएको झण्डै दुई घण्टा पछि श्रीमती ७६ वर्षिया विष्णुमती विकको पनि शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक असुविधाले सुरक्षाकर्मी घटनास्थलमा पुग्न ढिला भएका कारण उद्धारमा समस्या भएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रुसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।
घरमा सुतिरहेकी २८ वर्षिया बुहारी पवित्रा पहिरो झर्ने वित्तिकै भागेर ज्यान जोगाउन सफल हुनुभएको थियो । नाती नातीना वर्खे विदामा मामाघर गएकाले घटनावाट जोखिएको प्रहरीले जनाएको छ । मृतक दम्पतीका दुवै छोरा वैदेशिक रोजगारीका लागि दुवैमा रहेका छन् ।
उक्त घर गत वर्षकै वर्षायाममा जोखिमा परेको थियो । मोदी गाउँपालिकाले जोखिमयुक्त घरको सुचिमा कायम गरेको उक्त घरका परिवारलाई सचेतना अपनाउन आग्रह गरेको थियो ।
गएरातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भिषण वर्षा भैरहेको छ । यस क्षेत्रका मोदीखोला, पातीखोला, सेतीखोला, मल्याङदी, लमाएखोला र कालीगण्डकी नदिमा बहाब उच्च बढ्नुका साथै सतर्कता तह समेत पार गरिसकेको छ ।






