बर्षदिनदेखि अलपत्र कुश्मा बसपार्क संचालन गर्न उद्योगी, व्यावसायीको माग  - News site from Nepal
पर्वत ६ असार : निर्माण सम्पन्न भएको एक वर्ष नाघिसक्दा पनि उपयोग हुन नसकेको पर्वत सदरमुकाम कुश्माबजारमा निर्मित अत्याधुनिक बसपार्क तत्काल संचालन गर्न माग गरिएको छ ।
कुश्माबजारका उद्योगी व्यावसायीहरुले बसपार्क संचालन गर्न माग गरेका हुन् । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा समेत संचालन गर्न कुनै चासो नदेखाउँदा बसपार्कका संरचनाहरु जीर्ण बन्दै गएको भन्दै कुश्माका सुनचाँदी ब्यावसायी सुजन विक अमरको नेतृत्वमा रहेको उद्योगी व्यावसायीको टोलीले कुश्मा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र पर्वत उद्योग बाणिज्य संघमा बिहिवार ज्ञापन पत्र बुझाएका छन् ।
बसपार्क संचालन नहुँदा निर्मित संरचनाहरु जीर्ण बनेको, अब्यवस्थित पार्किङ्गले सवारी दुर्घटनाहरु बढ्दै गएको, यात्रुहरुले सुरक्षित रुपमा सवारीसाधन प्रयोगगर्न नपाएको जस्ता समस्या बढेको भन्दै तत्काल संचालन गर्न माग गरिएको व्यावसायी सुजन विक अमरले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले गत कात्तिकमै कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको भएपनि नगरिपालिकाले व्यवस्थापन गर्न नसक्दा संचालनमा नआएको हो ।
बसपार्क संचालन नहूँदा कुश्माको शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अब्यवस्थित रुपमा सवारीसाधनहरु पार्किङ गरेर राख्ने गरिएको छ । ज्ञापन पत्र बुझ्‌दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बसपार्क संचालनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । बसपार्क संचालनको प्रकृया अघि बढिसकेको भन्दै नयाँ आर्थिक वर्षको शुरुवातदेखिनै संचालनमा ल्याउने उहाँको दावी छ ।
अलपत्र बसपार्कको यात्रु कक्ष भत्किने, इँटाहरू उप्किने समस्या देखिएको छ भने टर्मिनल भवनका झ्यालढोकाका सिसाहरू फुटिसकेका छन् । अहिले उक्त बसपार्क क्षेत्र दुर्व्यसनको अखडा बन्दै गएको छ ।
भवनसहित बसपार्कको संरचना गत कार्तिक महिनामा सम्पन्न भई सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको नौ महिना बितिसक्दा समेत नगरपालिकाले निर्णय गर्न नसक्दा बसपार्कको सञ्चालनमा कठिनाई भएको हो । नगरपालिकाले आवश्यक सुरक्षा प्रबन्ध गर्न नसक्दा बसपार्कका विभिन्न संरचनाहरू तोडफोड भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार रेलिङ्ग, झ्यालढोका फोड्ने, बसपार्कभित्रै खुला दिशापिसाब गरिदिने जस्ता समस्या देखिएको र सञ्चालनमा ल्याउन सकेमा यस्ता समस्याहरू हल हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङ्ग बताउनुभयो । प्रभावकारी रेखदेख नहुँदा अहिले बसपार्कको यात्रुकक्ष भत्किन थालेको छ भने शौचालयका झ्याल र ढोकामा राखिएका सिसा फोडिएका छन् । यतिबेला बसपार्क दिउँसो सवारी सिक्ने र रातिको समयमा लागुऔषध सेवनकर्ताहरूको जमघट गर्ने थलो बनेको स्थानीयले बताएका छन् ।
बसपार्क सञ्चालन नहुँदा मध्ये पहाडी लोकमार्गअन्तर्गत कुश्माको शिवालय चोकदेखि खरेहासम्म जथाभाबी पार्किङ्ग हुने गरेको र त्यसले दुर्घटनाको समेत जोखिम रहेको ट्राफिक प्रमुख गुरुङको भनाइ छ ।
रु.छ करोड ६६ लाख ३ हजार २ सय ५० लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय र व्यवसायिक प्रयोजनका लागि आधादर्जन संख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार टेन्डरमा दिने तयारी भइरहेको बताउनुभयो । कुनै कम्पनी वा संस्थालाई सञ्चालनको जिम्मा दिने गरि तयारी थालेको बताउँदै अब छिट्टै नै सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!