गरिब , अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीलाई बरदान सावित
पर्वत, ३ साउन – पर्वत जिल्लाको जलजला गाउँपालिका ३ सय २७ जनाले समुदाय लक्षित निःशुल्क एम्बुलेन्स सेवा लिएका छन् । गत आव २०८१/०८२ मा गाउँपालिकाद्धारा सञ्चालित एम्बुलेन्स सेवाबाट कुल ६ सय ३१ जनाले सेवा लिएकोमा गर्भवती/सुत्केरी ७० जना,९९ जना ज्येष्ठ नागरिक,गरीब/असहाय ११० जना, अपाङ्ग ५ जना र अन्य ४३ जनाले निःशुल्क सेवा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाद्वारा सञ्चालित लक्षित वर्ग निःशुल्क एम्बुलेन्स सेवा तथा सःशुल्क सेवा अन्तर्गत ३०४ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।‘एम्बुलेन्स सेवा प्रभावकारी देखिएको छ, समयमै उद्धार गरी धेरैको ज्यान जोगिएको छ,आगामी दिनमा थप प्रभावकारी बनाउँछौ’अध्यक्ष आचार्यले भने । उनका अनुसार अति विपन्नलाई समयमे उपचारका लागि यूनिटको सक्रियता निकै लोभलाग्दो रहेको बताए ।
गाउँपालिकाले अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असह्य र अन्य विशेष अवस्थाका गरी पाँच अवस्थाका नागरिकलाई लक्षित वर्गमा राखेको छ । यी वर्गमा पर्नेहरूले निःशुल्क रूपमा एम्बुलेन्स सेवा पाएका छन् भने नागरिकले सुलभ मूल्यमा एम्बुलेन्स सेवा लिइरहेकाहरुबाट ११ लाख ३ हजार ६२३ राजश्व सङ्कलन भएको छ। ए्म्बुसेन्स सेवाबाट बेनी अस्पताल, धौलागिरी अञ्चल अस्पताल, पर्वत अस्पताल, पोखरा, काठमाडौँका अस्पतालसम्म एम्बुलेन्स सेवा लिएका छन् । एम्बुलेन्स सेवा सञ्चालन भएपछि तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए ।
प्रवासी नाग्लीवाङवासीहरूको सहयोगमा खरिद गरिएको ग १ झ ६१६ र भारतीय दूतावासले उपलब्ध गराएको ध १ झ ३७ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन समेत गरिएको छ ।मापदण्ड अनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको र लक्षित समुदायलाई सेवाका लागि गत आवमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने सेवालाई प्रभावकारी बनाउन इच्छुक व्यक्तिहरूले एम्बुलेन्स सञ्चालक समितिको खातामा रकम जम्मा गरेर सहयोग समेत गर्न सकिन्छ । एम्बुलेन्स चालकलाई २४ सै घण्टा । पैसा नलाग्ने १८१०५०००१६८ नम्बरको टोलफ्रिमा सम्पर्क गरेर सेवा लिन सकिने छ ।






