
पर्वत ६ माघ : नेकपा एमालेका उप–महासचिब प्रदीपकुमार ज्ञवालीले अहिलेसको सरकार संकटमा पर्यो वा छिटै ढल्छ भन्ने कुरा विपक्षिको छटपटी मात्र भएको बताउनुभएको छ ।
नेकपा एमाले पर्वतले आइतवारदेखि संचालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै नेता ज्ञवालीले यो सरकार ८४ सालसम्मै टिक्ने दावी गर्नुभयो । उहाँले सरकार बाहिर रहेका दलहरुलाई यो सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि छटपटाहट उत्पन्न भएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगायतलाई पानी विनाको माछा जस्तो छटपटाहटका कारण सरकारवारे अफवाह सिर्जना गरेको उहाँको भनाई छ ।
मुलुकमा देखिएको संकट समाधानकै लागि दुई ठुला दल एक ठाउँमा आएको बताउँदै नेपाली काँग्रेस र एमालेबीच विशेष सहमति बनेको बताउनुभयो । यो सरकार कुनैपनि संकटमा नपर्ने उहाँको भनाई छ । सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल शुरु भएको भन्दै कुनैपनि हालतमा सरकार नडगमडाउने उहाँले बताउनुभयो । काङ्ग्रेस र एमाले प्रमुख प्रतिस्पर्धि दलमात्र नभएर एक अर्काका सहयात्री पनि भएकाले मुलुक संचालनका लागि दुवै दल गम्भिर रहेको बताउनुभयो ।

सरकारले ल्याएको अध्यादेश संविधान अनुसारनै आएको ज्ञवालीको भनाई छ । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याएको भन्दै सरकारको आयुसँग सरकारको सम्वन्ध नरहेको उहाँको भनाई छ । अध्यादेशको विषयलाई लिएर अनावश्यक भ्रम सिजर्ना नगर्न विपक्षि दललाई चेतावनी समेत उहाँले दिनुभएको छ ।
नेता ज्ञवालीले यो सरकार वनेपछि धेरै लथालिंग बनेको अर्थतन्त्र विस्तारै सम्हालिदै आएको बताउनुभयो । अर्थतन्त्र पुर्ण रुपमा सुधार नभएपनि सुधारको बाटोमा रहेको बताउँदै मुलुकमा लगानीको बातावरण बन्दै गएको उहाँको भनाई छ । उहाँले बाह्य सम्वन्धलाई सन्तुलनमा ल्याउने प्रयास भैरहेको पनि बताउनुभयो । विकास निर्माणका कामहरु अघि बढ्न थालेका बताउँदै सरकाले संक्रमणकालीन न्यायको काम समेत द्रुत गतिमा अघि बढाएको उहाँको भनाई छ ।
यो सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसावले लागेको ज्ञवालीको भनाई छ । भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आवद्ध भएको व्यक्ति भएपनि कारबाहीको दायरमा ल्याएरै छाडिने उहाँको भनाई छ ।
नेकपा एमाले केन्द्रीय कमिटिको कार्यक्रम अनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । प्रशिक्षणमा एक सय भन्दा बढि नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
तीन दिनसम्म संचालन हुने प्रशिक्षणमा ज्ञवालीसँगै किरण गुरुङ, टुकराज सिग्देल, पदम गिरी, घनश्याम कोईराला, सुन्दर लामिछाने, डा. विश्वकल्याण पराजुली, धनन्जय दवाडी लगायतले सहजीकरण गर्नुहुने भएको छ ।