
पर्वत ६ माघ : पर्वतको सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिएको छ ।
मुलुकमा देखिएको आर्थिक मन्दि, सरकारको अपर्याप्त सहयोग र विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्याम्पस संचालन गर्न समस्या भएपछि एकीकरण गरिएको हो । कुश्मामा २०४८ सालदेखि संचालित गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालदेखि संचालित शिवालय बहुमुखी क्याम्पस एकीकरण गर्ने प्रकृया पुरा गरेर कुश्मा बहुमुखि क्याम्पस बनाईएको हो ।
क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व ब्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिवार अन्तिम टुंगो लगाएको हो । संयोजक पहाडीले दुई क्याम्पस एकीकरण गरेर नयाँ क्याम्पसको नामाकरण समेत भएको जानकारी दिनुभयो ।
नयाँ नामाकरण भएको कुश्मा बहुमुखि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमती दिएको छ । यस अघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापकहरु तथा सञ्चालक सदस्यहरुको उपस्थितीमा ८ वटा उपसमितिहरुको गठन गरिएको थियो । समितिहरुले दुई क्याम्पस एकीकरणका लागि कानूनी प्रावधानहरुको संसोधन देखि क्याम्पस सञ्चालनको आगामी खाका समेत प्रस्तुत गरेका थिए ।
अहिले गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर सहित दुई सय ६२ र शिवालय बहुमुुखि क्याम्पसमा दुई य ६८ जना विद्यार्थी रहेका छन् । हालको विश्वव्यापिकरण, वसाइसराई, नयाँ पुस्ताहरुमा देखिएको महत्वकांक्षा, घट्दो जनसंख्या र आर्थिक संकट जस्ता कारणले क्यापसहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने तर क्याम्पसहरुको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुुपरेको संयोजक पहाडीले बताउनुभयो ।
दुवै क्याम्पसका सञ्चालक समितिहरुले क्याम्पसलाई एकिकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकिकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महशुस गरी एकिकरण प्रकिया अघि बढाईएकोमा एक वर्षको प्रयासपछि सवै प्रकृया पुरा भएको उहाँले बताउनुभयो ।
क्याम्पस एकीकरण प्रकृया टुंगिएसँगै चालु शैक्षिक सत्रदेखिनै दुवैतर्फ संचालित कक्षाहरुलाई एकीकृत रुपमा संचालन गरिने भएको छ । बजारमा रहेको शिवालय बहुमुखि क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखि क्याम्पसमा संचालित कक्षाहरुलाई विद्यार्थी र प्राध्यापकहरुको अनुकुलता अनुसार संचालन गरिने उहाँले बताउनुभयो । दुवै क्याम्पस समुदायद्धारा संचालन भएका थिए ।
पर्वत जिल्लाभर १२ वटा सामुदायिक क्याम्पस संचालनमा रहेका छन् । जिल्लाका सवैजसो क्याम्पसहरुमा विद्यार्थीको संख्या न्यून छ । बिद्यार्थीको संख्या न्यून हुँदा ति क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेका छन् ।