पर्वत १ पुस : चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परिक्षा एसईई को नतिजा सुधार गर्नका लागि जिल्लाका सामुदायिक विद्यालयको कक्षा सुपरिवेक्षण गर्न थालिएको छ ।
एसईई परिक्षा आउन तीन महिना बाँकी छँदा विद्यार्थीहरुको सिकाई स्तर परिक्षण गर्नका लागि कक्षा सुपरिवेक्षण गर्न थालिएको हो । जिल्लाका एसईई परिक्षामा सहभागि हुने सामुदायिक विद्यालयहरुमा पुगेर कक्षा दश का विद्यार्थी र शिक्षकलाई सँगै राखेर सिकाई स्तर परिक्षण गर्न सुपरिवेक्षण गर्न थालिएको जिल्ला शिक्षा समन्वय ईकाई पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।
निजि विद्यालय भन्दा सामुदायिक विद्यालयको एसईई नतिजा हरेक बर्ष खस्कँदै गएपछि सुधारका लागि पहिलोपटक यस्तो प्रयास थालिएको उहाँले बताउनुभयो । एसईईमा सहभागि हुने विद्यार्थीलाई कुन विषयमा ढुक्कसँग पास गर्न सक्छन् र कुन विषयमा समस्या छ पहिचान गरी समस्या देखिएका विषयमा थप मेहनत गराउनका लागि यो अभियान प्रभावकारी देखिएको छ ।
विशेषगरी अंग्रेजी, गणित र विज्ञानमा अधिकांस विद्यार्थीहरु असफल हुँदै आएका छन् । विषयगत शिक्षकहरुलाई विद्यार्थीसँगै राखेर अन्तरक्रिया गराउँदा बाँकी रहेको समयमा सिकाई दरलाई बढाउँन र उनिहरुलाई अब्बल बनाउनका लागि महत्वपुर्ण भूमिका खेल्ने ईकाई प्रमुख चपाईले जानकारी दिनुभयो ।
गत शैक्षिक सत्रमा पर्वतवाट झण्डै ६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । उक्त नजितालाई सत्प्रतिशत बनाउनका लागि परिक्षा अगाावै विद्यार्थीलाई थप मेहनत गर्न र उनिहरुको सिकाई स्तरलाई परिक्षण गरी कमजोर विद्यार्थीलाई सिकाईमा जोड दिनका लागि यो कार्यक्रम प्रभावकारी देखिएको कुश्माको नारायण माविका प्रद्यानाध्यापक प्रकाश रिजालले बताउनुभयो । उहाँले समन्वय ईकाईले संचालन गरेको अभियानले विद्यालय र विषयगत शिक्षकलाई थप जिम्मेवार बनाएको बताउनुभयो ।
यस वर्ष जिल्लाका ९० वटा माध्यमिक विद्यालयवाट विद्यार्थीहरु एसईई परिक्षामा सहभागि हुँदै छन् । जसमध्ये पहिलो चरणमा ७४ वटा सामुदायिक विद्यालयमा पुगेर सुपरिवेक्षण गरिने र दोस्रो चरणमा निजि विद्यालयको सुपरिवेक्षण गरिने समन्वय ईकाई प्रमुख चपाईले जानकारी दिनुभयो । गत वर्ष कतिपय स्थानमा होमसेण्टर नै राखेर एसईई परिक्षा संचालन गर्दा समेत नतिजामा सुधार आउन सकेको थिएन ।
सुपरिवेक्षणका क्रममा विद्यार्थीहरुले मुख्यतया अंग्रेजी, विज्ञान र गणित विषयसँगै अतिरिक्त विषयमा उत्तिर्ण हुन नसक्ने आशंका गरेका छन् । त्यस्ता विषयगत शिक्षकहरुले उनिहरुलई अलमल रहेका समस्याहरु समाधानमा ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ । आगामी चैत महिनामा हुने माध्यमिक शिक्षा परिक्षाका लागि अहिले विद्यालयहरुले विहान सवेरैदेखि राती अबेरसम्म अतिरिक्त कक्षा समेत संचालन गरेर पठनपाठन समेत शुरु गरिसकेका छन् ।
हालसम्म झण्डै डेढ दर्जन विद्यायमा सुपरिवेक्षण गरिसकिएको र दैनिक दुईवा विद्यालयको दरले सवै पालिकाका सवै वडामा पुगेर नियमित सुपरिवेक्षण गरिने शिक्षा समन्वय ईकाई पर्वतले जानकारी दिएको छ ।





