पर्वत, ३० कात्तिक : छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि भोलीदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि भोली मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।
सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले अनुरोध गरेका छन् ।
आइतवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल पछि कुश्मा नगरपालिका वडा नं. १ मालढुंगादेखि जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीसम्म तीन साता दैनिक छ घण्टाको दरले सवारी आवतजावत बन्द गर्ने निर्णय भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख तेजश्वी शर्माले जानकारी दिए ।
कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति कार्य भईरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ ।
“१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको छ,” आयोजना प्रमुख शर्माले भने “फराकिलो पार्ने, नाली, पर्खाल बनाउने, बेस र सब बेस राख्ने काम सकेर कालोपत्र गर्न लागिएको हो ।” सवारी साधन ओहोर दोहोर गरिरहने भएकाले सडक कालोपत्र गर्न समस्या भएपछि यातायात व्यावसायी र यात्रुहरुलाई असर नपर्नेगरी सडक बन्द गरेर काम गर्न लागिएको हो । मालढुङ्गा–बेनी सडकलाई ११ मिटर (दुई लेन) फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । यसै वर्षभित्र कालोपत्र सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । वि.सं. २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा तीन वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयबासी उत्साही भएका छन् । सडक निर्माणलाई गति दिन जनप्रतिनिधी, उद्योगी ब्यवसायी र सरोकारवालाहरुले दवाव दिदै आएका छन् । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।