पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजना तथा फलेवास नगरपालिकाको संयोजनमा सार्वजनिक सुनुवाई तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह सम्वन्धमा सहजीकरण तथा समन्वयका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो भने स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्वन्धि सचेतनामुलक अन्तरक्रिया समेत गरिएको छ । सो अवसरमा सहभागि फलेवास नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुमा कानूनी सचेतनाको अभाव देखिएको छ । स्थानीय शासन संचालन ऐन, संविधान र पञ्जिकरण ऐन सम्वन्धि ज्ञानको अभावमा नागरिकता, नाता प्रमाणित, सिफारीस, तमसुक तथा अन्य प्रमाणीकरणका बारेमा ज्ञानको अभाव देखिएको हो । वडा तहमा आउने सेवाग्राहीहरुका कतिपय कामहरु झण्झटिला र प्रशासनसँग बाझिने खालका हुने भएकोले आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले कानूनी चेतनाको अभावमा व्यवहारिकतामा काम गर्नुपर्दा जनप्रतिनिधिहरुलाई असहजता महसुस भएको बताउँदै प्रहरी प्रशासनले आवश्यक सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो । यो वा त्यो बहानामा जनताका काम रोकिन नहुने र जनताले पाउने सेवावाट बञ्चित हुन नहुने बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको आवश्यक समन्वय र सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयवाट प्रवाह भएका सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो । नागरिकता तथा राहदानी वितरण तथा फारम संकलनको अवस्था, राष्ट्रिय परिचय पत्र, विपद् पिडितलाई राहत वितरण, उजुरी तथा मुद्धाहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा फलेवास नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले फलेवास नगरपालिका भित्र बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । उहाँले आफु न्याययिक समितिको संयोजक भएपनि नागरिकहरु सानोतिनो समस्या लिएर अहिले पनि प्रहरी प्रशासनमै पुग्ने गरेको बताउँदै पालिकाबाट समाधान हुने समस्याहरु पालिकामै पठाईदिन आग्रह गर्नुभयो । कार्यक्रममा समुदायको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धमा सहजीकरण र समन्वयलाई मध्यनजर गर्दै सम्पन्न भएको उक्त नागरिक सुनुवाई कार्यक्रममा उपस्थित व्यक्तिहरुको गुनासोलाइ जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले प्रस्ट पार्नुभएको थियो । उहाँले जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षमा अपराध न्यूनिकण, आत्महत्या न्यूनिकरण र घरेलु हिंसा न्यूनिकरणका लागि एक हजार एक सय भन्दा बढि सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश लम्सालले चालु आर्थिक वर्षमा फलेवास नगरपालिकाले गरेका उपलव्धीको बारेमा जानकारी गराउनुभएको थियो । फलेवासको चालु आर्थिक वर्षमा वित्तिय प्रगति ८७ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले वडा स्तरीय ६२ र नगर स्तरीय ४१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले पनि बोल्नुभएको थियो । कार्यक्रममा स्वागत फलेवासका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद आचार्य र संचालन जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर भरत सापकोटाले गर्नुभएको थियो । सो अवसरमा पहुँचका आधारमा प्रशासनले सेवा दिने गरेको, नागरिकता सिफारीस गर्दा नाम, थर ठेगानामा फरक परेको, विपद पिडितहरुले राहत नपाएको, आमाको नामबाट नागरिकता जारी नभएको, ग्रामीण सडकमा भाडादर समायोजन नभएको, अग्नी नियन्त्रणमा समस्या, राष्ट्रिय परिचयपत्र आइनपुगेको, दलित भएरपनि दलित भएको प्रमाणीकरण गर्नुपर्ने जस्ता समस्या तथा गुनासाहरु राखेका थिए ।