
पर्वत– पार्वतीको जन्मभूमि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा अवस्थित पार्वती गुफामा त्रिदिवसीय धार्मिक अनुस्ठान कार्यक्रम गरिने भएको छ ।
पार्वती गुफाको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि अनुष्ठानको आयोजना गरिएको हो । आगामी बैशाख १६ गतेदेखि १८ गतेसम्म हुने कार्यक्रममा पार्वती माताको मुर्तिको प्राण प्रतिष्ठा समेत गरिने भएको छ ।
उक्त कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि प्रेमप्रसाद शर्मा रेग्मीका संयोजकत्वमा मुल समिति तथा सचिबालय गठन गरिएको छ । अनुष्ठान कार्यक्रमको लागि आवश्यक आर्थिक संकलनका लागि पाङ र खुर्कोटका जनसमुदायको घरदैलोमा पुग्ने तथा रु दुई हजार एक सय रुपैया आयोजक स्वरुप संकलन गर्ने निर्णय समेत भएको छ ।
पार्वती गुफामा यस अघि योगी नरहरीनाथ, जगतगुरु मोहनशरण देवाचार्य, प्राज्ञ जगमान गुरुङ, चैतन्य कृष्ण महाराज, श्री एक हजार आठ स्वामी राजेश्वरानन्द जी महाराज लगायत थुप्रै सन्त महात्माहरुले गुफाको स्थलगत अनुगमन तथा प्रवचनहरु गरिसकेको मुल संयोजक रेग्मीले बताउनुभयो ।
जिल्लाकै महत्वपुर्ण धार्मिक एवम् पर्यटकीय स्थलमा आयोजना गरिएको कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण भक्तजनहरुमा स्वतःस्फुर्त रुपमा आर्थिक, भौतीक तथा नैतिक सहयोग गरिदिन पनि आयोजकले अनुरोध गरेको छ ।