जेनजी प्रदर्शनकारीले पर्वतमा काँग्रेस, एमाले र माओवादीको कार्यालयमा आगजनी  - News site from Nepal
पर्वत २४ भदौ : देशभर जस्तै पर्वतमा पनि जेनजी युवाहरुको आन्दोलन विहानैदेखि जारी रहेको छ ।
युवाहरुले दिनभर जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरे भने प्रदर्शन पछि जिल्लामा रहेका शिर्ष दलका पार्टी कार्यालयमा आगजनी गरेका छन् । आक्रोशित युवाहरुले शुरुमा लोकतान्त्रिक चोकमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको बोर्ड तोडफोड गरेका थिए भने त्यसपछि नेकपा एमालेको कार्यालयमा पुगेर आगजनी गरेका छन् । कार्यालयभित्रका फर्निचर तोडफोड,साईनबोर्ड तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।
लगत्तै खत्रीटोलका रहेको नेपाली काँग्रेसको कार्यालयमा शुरुमा ढुंगामुडा गर्नुका साथै फर्निचर तोडफोड गरेका प्रदर्शनकारीले पुःन दोस्रोपटक फर्किएर आगजनी गरेका थिए । आगजनीवाट पार्टी कार्यालयमा ठुलो क्षति पुगेको छ । यस्तै माओवादी केन्द्रको कार्यालयमा समेत पुगेर आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले सरकार र शिर्ष नेता विरुद्ध नाराबाजी गर्नुका साथै भ्रष्टाचार विरोधी पर्चा पम्प्लेटहरु प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लोकतान्त्रिक चोकमा रहेको शहिद गोबिन्दनाथ शर्माको शालिक र मध्यपहाडी लोकमार्गको जिरो किलोमिटरमा निर्माणाधिन काँग्रेस नेता अमृत जोशीको शालिक पनि भत्काईदिएका छन् ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय र कुश्मा नगरपालिकामा पुगि राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर निकाले जलाएका थिए ।
यसैबीच जिल्लाको पैंयू, विहादी र जलजला गाउँपालिकाले आज र भोली शोकविदा भन्दै निजि तथा सार्वजनिक विदालयमा बिदा दिएका छन् । दिनभर जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका सेवा समेत प्रभावित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!