प्रमुख समाचार

नेपाल किसान महासंघ पर्वतद्धारा धानवाली क्षति भएका कृषकलाई क्षतिपूर्तिको माग

By लोकतन्त्र अनलाईन

November 04, 2025

पर्वत– पछिल्ला दिनमा परेको बेमौसमी वर्षा र हावाहुरीका कारण पर्वत जिल्लाका किसानहरू ठूलो मारमा परेका छन्। काट्ने तयारीमा रहेका धानबाली तथा भण्डारण गर्ने बेलामानष्ट भएपछि किसानहरूको वर्षभरको मेहनत पानीमा बगेको छ।

यसै सन्दर्भमा नेपाल किसान महासंघ जिल्ला समिति पर्वतले मंगलबार कृषि ज्ञान केन्द्र पर्वतमा ज्ञापनपत्र बुझाउँदै प्रभावित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

ज्ञापनपत्रमा कार्तिक ११ देखि १४ गतेसम्मको वर्षा र हावाहुरीका कारण धान तथा अन्य बालीमा व्यापक क्षति पुगेको उल्लेख छ। ग्रामीण क्षेत्रमा निर्भर किसानहरूको जीविका संकटमा परेको भन्दै महासंघले तत्काल क्षति मूल्यांकन गरी राहत उपलब्ध गराउन सम्बद्ध निकायलाई आग्रह गरेको छ।

महासंघका अध्यक्ष रघुनाथ गौडेल लगायतका सरोकारवालाहरुद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “धानबालीमा नोक्सानीका कारण किसानहरूको दैनिकी कष्टकर बनेको छ । राज्यले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराए मात्र उनीहरूको मनोबल जोगाउन सकिन्छ ।”

महासंघले कृषिमा देखिएका यस्ता प्राकृतिक विपत्तिले किसानलाई थप समस्यामा पार्ने भएकाले आगामी दिनमा बीमा, राहत तथा पूर्वतयारी कार्यक्रमलाई सुदृढ बनाउन सरकारसमक्ष माग गरेको छ । कृषकहरुको ज्ञापन पत्र बुझ्‌दै कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले राहत र क्षतिपुर्तिका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।