सम्भावनाको खानी कालीगण्डकी तटिय क्षेत्र, दिर्घकालीन सोच र योजनाको अभाव - News site from Nepal
पर्वत  : मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ मन्दिरवाट शुरु हुने पवित्र कालीगण्डकी नदिका तटिय क्षेत्रहरु आर्थिक विकास र पर्यटकीय दृष्टिकोणले निकै महत्वपुर्ण देखिएका छन् ।
धार्मिक एवम् पौराणिक रुपमा समेत ऐतिहातिक महत्व बोकेको कालीगण्डकी तटिय क्षेत्रको उचित संरक्षण र प्रवद्र्धन हुन नसक्दा प्रभावित जिल्लाका नागरिकले उचित फाईदा लिन नसकेको पाईएको छ । कालीगण्डकी नदिको जल, शालग्राम शिला, बालुवा, ढुंगा लगायतका निर्माणजन्य सामाग्रीको एकीकृत प्रयोगको योजना ल्याउन सकेमा नेपालको आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने सरोकारवालाहरु बताउँछन् ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयले संचालन गरेको कालीगण्डकी तटिय क्षेत्र पर्यटन प्रबद्र्धन कार्यक्रममा सहभागि यस क्षेत्रका विद्धत, जानकार एवम् विश्लेषकहरुले कालीगण्डकी नदिको ऐतिहाशिक र पौराणिक महत्वका साथै शालग्राम शिलाको बारेमा विश्वकका हिन्दु समुदायसम्म प्रचार गर्न सकेमा बार्षिक करोडौ भक्तजनहरुको ओईरो लाग्ने बताएका छन् ।
जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजजीले कालीगण्डकीको जल र शालग्राम शिलाको ठुलो महत्व रहेको बताउनुभयो । उहाँले कालीगण्डकी नदिमा मात्र पाईने शालग्राम शिला आज विश्वका कुना कुनासम्म पुगेको जनाउँदै अझै यसको महत्वका बारेमा समेत कुना कुना सम्म प्रचार गर्न जरुरी रहेको बताउनुभयो । कालीगण्डकी नदिका किनारमा रहेका हरेक घाट र धामहरुको उत्तिकै महत्व रहेको उहाँको भनाई छ । हरेक दिन शालिग्रा पुजा गर्ने र जल पिउनाले शरिरका हरेक रोगब्याधि नष्ट हुने उहाँको भनाई छ ।
कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान तथा कालीगण्डकी गुरुकुलका संस्थापक पाल्पाको उत्तरबाहिनीका श्री चैतन्य कृष्ण जी महाराजले १८ पुराणमा बर्णित कालीगण्डकीको महत्वलाई विश्व समुदायसम्म पुर्‍याउनका लागि आगमी असोज महिनामा कुम्भ भेला आयोजना गरिएको बताउनुभयो । उहाँले विश्वका प्रतिष्ठित साधु, सन्त र हिन्दुप्रेमीहरुलाई उक्त कुम्भ भेलामा आमन्त्रण गरिएको र अहिले प्रचारप्रसारका साथै ब्यवस्थापनको काम भैरहेको जानकारी दिनुभयो ।
कालीगण्डकीको बहुआयामीक प्रयोगवाट मुलुकले ठुलो फाईदा लिन सक्ने भएपनि राज्य तहमा बसेकाहरुवाट चासो दिन नसकिएको चैतन्य कृष्ण जी महाराजको भनाई छ ।
तनहूँको देबघाटमा रहेको परमानन्द संस्कृत गुरुकुलका प्रचार्य स्वामी सचितानन्द सरस्वतीले पछिल्लो समय कालीगण्डकी नदिलाई डाईभर्सन गर्ने विषयहरु उठान भैरहेको बताउँदै यसले देवघाटका साथै कालीगण्डकी नदिको महिमा र महत्वको अस्तित्व संकटमा पर्ने बताउनुभयो । उहाँले कालीगण्डकीको सभ्यता जोगाउनका लागि सवै सरोकारवालाहरु एकजुट हुनुपर्ने धारणा राख्नुभएको छ ।
म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधामका मुल पुजारी चन्द्रमणी आचार्यले कालीगण्डकीको ऐतिहातिक महत्व विश्वका अन्य कुनै नदिसँग तुलना गर्न नहुने बताउनुभयो । उहाँले भागवत पुराणका केहि अंशवाट कालीगण्डकीको बारेमा लेखिएका लिपिहरु हटाईएको प्रति दुःख समेत व्यक्त गर्दै यसको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पर्वत उद्योग बाणिज्य संघले संचालन गरेको पाँच दिने तटिय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम देवघाटदेखि मुक्तिनाथ सम्म पुगेर बुधवार सकिएको छ । उक्त कार्यक्रम अन्तर्गत देवघाटदेखि शुरु भएको अभियान अन्तर्गत उत्तरबाहिनी, रुरुक्षेत्र र विश्वकै ठुलो शालिग्राम शिला रहेको सेतीवेणी, म्याग्दीको गलेश्वर धाम हुँदै मुक्तिनाथसम्मको धार्मिक गन्तब्य निर्माण गर्न लागिएको हो ।
धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण सम्पदाहरु रहेपनि विश्व समुदायबीच प्रचार प्रसार हुन नसकेको कालीगण्डकीको महिमा उजागर गर्नका लागि गरिएको यो कार्यक्रमपछि भारतीय मात्र नभएर विश्वका अन्य मुलुकका भक्तजनहरु समेत यस क्षेत्रमा आकर्षण बढ्ने गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बताउनुभयो ।
मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ । उक्त कार्यक्रमवाट सवै क्षेत्रको महिमा समेटिएको विभिन्न भाषाका ब्रोसर प्रकाशन तथा वितरण र बृत्तचित्र निर्माण गरिनुका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माद्याममा समाचार, विचार, आलेख प्रकाशन गरिने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!