विद्यालय सुपरिवेक्षण तथा शिक्षक पेसागत सहयोग कार्यक्रमको समीक्षा तथा अन्तरक्रिया सम्पन्न - News site from Nepal

पर्वत : शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको आयोजनामा विद्यालय सुपरिवेक्षण तथा शिक्षक पेसागत सहयोग कार्यक्रमको समीक्षा सम्पन्न भएको छ ।
इकाईको आयोजनामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयहरूमा सम्बन्धित विषयका विज्ञहरू सहित भएको सुपरिवेक्षणपछि समीक्षा कार्यक्रमको आयोजना गरिएको हो । बिहीबार इकाईमा आयोजना भएको कार्यक्रममा इकाई प्रमुख मतिलाल चपाइ सहित सुपरिवेक्षणमा पुगेका स्थानीय तहका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधिहरू सहित सम्बन्धित स्थानीय तहका विभिन्न विषयका विज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रममा हरेक विज्ञ शिक्षकले सुपरिवेक्षणका क्रममा आफूले गरेको अनुभूति र सम्बन्धित विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अपनाउन सकिने क्रियाकलापहरूको बारेमा सुझाव राखेका छन् ।
साथै उनीहरूले शैक्षिक गुणस्तर कायम गर्नको लागि स्थानीय तह तथा समन्वय इकाईको कामको महत्वको बारेमा पनि बोलेका छन् । उनीहरूले विद्यालयमा उज्यालो कक्षा कोठा, सक्रिय शिक्षक, स्थानीय पाठ्यक्रमको प्रयोग, पाठयोजनाको निर्माण, शिक्षकलाई तालिमको आवश्यकता, नियमित कक्षा अवलोकन र स्रोतको व्यवस्था गर्नुपर्ने सुझाव राखेका छन् ।
विद्यालयले शैक्षिक सामग्री आवश्यकता अनुसार उपलब्ध गराउनुपर्ने, बुक कर्नरको व्यवस्था हुनुपर्ने, विद्यार्थी केन्द्रित विधिको अधिक प्रयोग हुनुपर्ने, शिक्षक निर्देशिकाको प्रयोग हुनुपर्ने लगायतका आवश्यकता पनि विज्ञ शिक्षकहरुले औँल्याएका छन् । कार्यक्रममा बोल्दै इकाई प्रमुख चपाइले जलजला गाउँपालिकाका १०, मोदी गाउँपालिकाका १२, कुश्मा नगरपालिकाका १६, फलेवास नगरपालिकाका नौ, बिहादी गाउँपालिकाका नौ, महाशिला गाउँपालिकाका १० र पैयुँ गाउँपालिकाका १३ वटा विद्यालयहरूमा सुपरिवेक्षण गरिएको जानकारी दिए ।
गाउँ गाउँमा रहेका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून हुँदा पनि स्थानीय तहहरूले विद्यालय समायोजनको काम गर्न नसक्दा कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक धेरै रहेको पाइएको उनको भनाई छ । विद्यार्थी सङ्ख्याको आधारमा शिक्षकहरूको सरुवा र विद्यालय समायोजन गर्न नसक्दा राज्यको ठुलो लगानी उत्पादनविहीन ठाउँमा लगानी हुनु दुःखद रहेको इकाई प्रमुख चपाइले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!