प्रमुख समाचार

तिलाहारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारी

By लोकतन्त्र अनलाईन

November 03, 2025

पर्वत–ः पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलहारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । स्थानीय बालमैत्री वडा घोषणका लागि आवश्यक सवै सुचकहरु पुरा भएपछि केहि दिनमै घोषणा गर्ने तयारी गरिएको हो । बाल अधिकार सुनिश्चित गर्दै, बालबालिकाको हितमा स्थानीय तहको योजना, बजेट र कार्यक्रम अभिमुख गराउने उद्धेश्यले बालमैत्री वडा घोषणा गर्न लागिएको हो । बाल अधिकारको प्रत्याभूति, शिक्षामा पहुँच र गुणस्तर स्वास्थ्य र पोषण, . सुरक्षा र संरक्षण, बाल सहभागिता, बालमैत्री योजना र बजेट, सफाइ र सरसफाइ, पहुँच र समावेशीकरण, मनोरञ्जन, खेलकुद र सांस्कृतिक विकास, निगरानी र तथ्याङ्क व्यवस्थापन जस्ता सुचकहरु पुरा भएका छन् । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीमा रहेको तिलाहारमा आईतवार जिल्लास्तरीय अनुगमन टोलीले अनुगमन गरेको छ । तयारीस्वरुप हालसम्म ९२ प्रतिशत भन्दा बढि उपलब्धि हासिल भएका छन् । ८० प्रशित भन्दा बढि सुचक पुरा हुनुपर्नेमा पछिल्लो मुल्यांकनमा ९२ प्रतिशत पुरा भएपछि अब घोषणा गरिने भएको छ । वडास्तरको आत्ममूल्याङ्कन रिपोर्ट समेत तयार भैसकेको छ । अनुगमनमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, जिल्ला समन्वय अधिकारी किरण पौडेल, जिल्ल शिक्षा समन्वय ईकाई प्रमुख मतिलाल चपाई, मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरि सहित वडा अध्यक्ष, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, प्रशासन कार्यालय लगायतको सहभागिता रहेको थियो । अनुगमन टोलीले वडामा रहेका सवैजसो सामुदायिक विद्यालय र स्वास्थ्य चौकीमा पुगेर पछिल्लो अवस्थामा बारेमा जानकारी लिएको थियो । अनुगमन पछि भएको छलफलमा अधिकांस सुचकहरु पुरा भएकाले घोषणाको मिति तय गर्न सुझाव दिएको छ । मोदी गाउँपालिकाले यस अघि पाँच ६ वटा वडा घोषणा गरिसकेको छ भने अब दुईवटा वडा र पालिकालाई नै बालमैत्री पालिका घोषणा यसै वर्ष गर्नेगरी तयारी गरेको शिक्षा अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो ।