प्रमुख समाचार

आर्थिक र पर्यटन विकासका लागि आठौँ पर्वत महोत्सव गरिँदै, महोत्सवको लोगो सार्वजनिक

By लोकतन्त्र अनलाईन

December 02, 2025

पर्वत-  समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वतमा आठौ पर्वत महोत्सव गरिने भएको छ ।

पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको हो । संघ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी. पौडेलले जानकारी दिनुभयो ।

महोत्सवका बारेमा जानकारी दिन आज बिहान उद्योग आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका लघु तथा घरेलु उद्योगहरूबाट उत्पादित सामग्रीहरूको बजारीकरण तथा कोसेली घरको व्यवस्थापन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला संस्कृतिको जगेर्ना गर्ने, गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउने, स्थानीय बजारको सुरक्षाको लागि सी.सी. क्यामेरा जडान गर्ने, खेलकुद मैदानलाई व्यवस्थापन गर्ने र आधुनिक सभाहल बनाउने उद्देश्य महोत्सवमा राखिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्‍याली प्रदर्शन, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, विभिन्न जातजातिका झाँकी प्रस्तुत, लप्सीका खाद्य परिकारहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न उपभोग्य वस्तुहरूको बिक्री, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, दौड तथा छेलो फाल्ने प्रतियोगिता, टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।

झन्डै दुई सय ५० वटा ‘स्टल’हरू रहने तथा करिब एक लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने अनुमान गरिएको महोत्सवमा आकर्षणका रूपमा औद्योगिक प्रदर्शनी, स्थानीय कलाकारहरूका प्रतिभा, स्थानीय स्वादका स्थानीय परिकार, प्रदेशका पर्यटकीय स्थलहरूको बारेमा जानकारी, हस्तकलाका सामग्रीहरू सहित पर्वतलाई चिनाउँदै आएको लप्सीबाट बनेका विभिन्न परिकारहरू, प्रशोधित जडीबुटी, कृषि तथा पशुजन्य उत्पादन लगायत रहेका छन् । महोत्सवमा ‘स्टल’ राख्ने पर्वत उद्योग वाणिज्य सङ्घका सदस्य, लघु, घरेलु तथा महिला उद्यमीहरूले २५ प्रतिशत छुटमा ‘स्टल’ भाडामा लिन पाउने छन्।

महोत्सवको ११ दिनको अवधिमा करिब रु.एक करोड २९ लाख रुपैयाँ आम्दानी हुने र करिब २० लाख रुपैयाँ भन्दा बढी रकम बचत हुने आर्थिक संयोजक कमल जिसीले बताउनुभयो । मुख्य गरी टिकट बिक्रीबाट रु.३० लाख, ‘स्टल’ भाडाबाट रु.१५ लाख, मुख्य प्रायोजकबाट रु.१५ लाख, रमाइलो मेलाबाट रु.१५ लाख, प्रायोजकबाट रु.१० लाख आम्दानी हुने अनुमान छ । यस्तै मुख्य खर्चमा ‘स्टल’ तथा महोत्सव स्थल निर्माणमा रु.२० लाख, खेलकुद, झाँकी तथा सांस्कृतिक प्रतियोगितामा रु.१२ लाख, कलाकार तथा अतिथि व्यवस्थापनमा रु.३० लाख खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमै महोत्सवको लोगो समेत सार्वजनिक गरिएको थियो ।