कालीगण्डकी तटका उत्तरबाहिनी, रुरुक्षेत्र, सेतीवेणी र गलेश्वर धाममा अन्तरक्रिया सम्पन्न - News site from Nepal

पर्वत– कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्तरबाहिनी, रुरुक्षेत्र, सेतीवेणी र गलेश्वरधाममा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएका छन् ।
पवित्र कालीगण्डकी नदि किनारमा रहेका तर ओझेलमा परेका ऐतिहासिक तीर्थ तथा धामहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र यसको महिमालाई उजागर गर्ने उद्धेश्यले गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पर्वत उद्योग बाणिज्य संघले पाँच दिने प्रचारात्मक कार्यक्रम गरिरहेको छ ।


सोही अन्तर्गत स्याङ्जा र पाल्पाको सिमानामा रहेको उत्तरबाहिनीमा विशेष समारोह सम्पन्न गरियो भने रुरुक्षेत्र र सेतीवेणीमा अन्तरक्रिया गरिएको हो । यसैगरी गलेश्वरधाममा स्थानीय सरोकारवालाहरुको सहभागितामो उक्त क्षेत्रको विकास र प्रवद्र्धनका बारेमा छलफल गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशकै महत्वपुर्ण सम्पदा भएपनि उचित प्रचार प्रसार र प्रवद्र्धन गर्न नसक्दा ओझेलमा परेकोले मन्त्रालयले यसलाई विशेष योजना बनाएर अघि बढेको बताउनुभयो । उहाँले यो अभियान पछि निर्माण गरिने भिडियो डकुमेन्ट्री र ब्रोसरको माध्यमवाट राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा प्रचार प्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाएर यस क्षेत्रका नागरिकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमहरुमा कालीगण्डकी नदिका विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्ने कालगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका एवम् कालीगण्डकी गुरुकुलमका संस्थापक चैतन्य कृष्ण जी महाराज, रुरुक्षेत्र गायत्री गुरुकुलका प्राचार्य मेघराज शर्मा रिजाल,सेतीवेणी शालिग्राम विद्याश्रमका संरक्षक गुरु कुलेश्वर तिवारी तथा गलेश्वर धामका मुल गुरु चन्द्रमणी आचार्यले कालीगण्डकी, शालग्राम शिला र यसका महत्व, महिमा र उजागर गर्नुपर्ने विषयका बारेमा प्रवचन दिनुभएको छ ।


कार्यक्रममा स्थानीय सरोकारवाला गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, निर्मला थापा, पुर्व सांसद शंकर पाण्डे, जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम विक, गल्याङ नगरपालिकाका प्रमुख गुरु भट्टराई, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी, उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन महाशाखामा प्रमुख हिमा पोखरेल, उद्योगी, व्यावसायी तथा स्थानीय सरोकारवालाहरुले विभिन्न सुझाव तथा प्रतिकृया ब्यक्त गर्नुभएको छ ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले स्वागत सहित कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने संचालन नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो । धन्यवाद सहित समापन पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमल जिसीले गर्नुभएको थियो ।
देवघाटदेखि शुरु भएको अभियान अन्तर्गत उत्तरबाहिनी,रुरुक्षेत्र र विश्वकै ठुलो शालिग्राम शिला रहेको सेतीवेणी, गलेश्वर धाम हुँदै मुक्तिनाथसम्मको धार्मिक गन्तब्य निर्माण गर्न लागिएको हो । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण सम्पदाहरु रहेपनि विश्व समुदायबीच प्रचार प्रसार हुन नसकेको कालीगण्डकीको महिमा उजागर गर्नका लागि गरिएको यो कार्यक्रमपछि भारतीय मात्र नभएर विश्वका अन्य मुलुकका भक्तजनहरु समेत यस क्षेत्रमा आकर्षण बढ्ने विश्वास लिईएको छ ।
कालीगण्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिने उहाँहरुको भनाई छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ ।
उक्त कार्यक्रमवाट सवै क्षेत्रको महिमा समेटिएको ब्रोसर प्रकाशन तथा वितरण र बृत्तचित्र निर्माण गरिनुका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माद्याममा समाचार, विचार, आलेख प्रकाशन गरिने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले बताउनुभयो ।
प्रचारात्मक कार्यक्रम आज मुस्ताङमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!