पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न रोक - News site from Nepal
पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न रोक

पर्वत, १५ कात्तिक –  नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अपराधिक घटना न्यूनिकरण गर्नका लागि राती ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाईने जनाएको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गर्दै राती ९ बजेभन्दा पछि देउसीभैलोका कार्यक्रम गर्दा विभिन्न अपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रोक लगाईएको हो ।

त्यसैगरी पटका, आतसवाजी, झिरझिरे जस्ता विष्फोटक पदार्थको प्रयोग, विक्रि वितरण तथा ओसार पसार गर्न नपाईने, जुवा, तास, चिठ्ठा, लंगुरबुर्जा, सट्टेवाजी लगायतका गैरकानुनी क्रियाकलाप गर्न समेत प्रशासनले रोक लगाएको छ ।

प्रजिअ शर्माले तिहारको समयमा विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी हुने र करेन्ट लाग्न सक्ने भएकाले यस्ता उपकरण प्रयोग गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

चाडपर्वको समयमा मादकपदार्थ सेवन गर्ने, सवारी साधनमा जथाभावी यात्रु राख्ने, लुटपाट, चोरी डकैती जस्ता घटना हुने भएकाले सजगता अपनाएर चाडपर्व मनाउन प्रशासनले आग्रह गर्दै भिडभाडजन्य गतिविधि गरी समाजमा अशोभनिय क्रियालापजन्य कार्यहरु नगर्न समेत प्रशासनले सचेत गराएको छ । खाद्य रङ्ग मिसाईएका मिठाई, रोटी झिलिंगा जस्ता अस्वस्थ र गुणस्तरहिन खाद्यपदार्थको उपभोग तथा विक्रि वितरणमा समेत कडाई गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनको आदेशलाई अवज्ञा गरिएमा कानून अनुसार कारवाही गरिने समेत प्रजिअ शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!