बाढीले कुश्माको जिरो किमिका दर्जनौ घर जोखिममा, राजमार्ग र सरकारी कार्यालय पुरियो - News site from Nepal
पर्वत १६ साउन ः गएराती आएको भिषण वर्षापछिको बाढिका कारण पर्वत सदरमुकाम कुश्माबजारका पैतालिस घर जोखिममा परेका छन  ।
कुश्माबजारको जिरो किमी भन्दा माथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढिले पुरिएपछि सिंगो बस्तीनै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश श्रेष्ठ सहित गंगाराज परियार, विरवहादुर परियार लगायतका १२ वटा घरमा बाढि पसेर क्षति पु¥याएको हो भने अन्य घर जोखिममा परेका हुन् । समयमै घरका बासिन्दा सुरक्षत स्थानमा सरेका कारण मानविय क्षति हुन नपाएको प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो ।
स्थानीय शिवलाल सार्कीका अनुसार जिरोकिमी, नारायणस्थान र दलित बस्तीका गरी ४५ भन्दा बढि घर जोखिममा परेका छन् । बाढिले हरेक घरका आँगन, पिढि र कोठाहरु ढुंगामाटोले पुरिएका छन् । तत्काल ढुंगामाटो नहटाउने हो भने फेरी पर्ने वर्षाले घरहरु जुनसुकै बेला पनि भत्किने जोखिम बढेको सार्कीले बताउनुभयो ।
बाढिका कारण भु–तथा जलाधार व्यवस्थापन कार्यालय पनि उच्च जोखिममा परेको छ । लेदो सहितको बाढीले कार्यालयको प्राङ्गण पुरै पुरिएको छ भने घेरावार र सडकमा समेत क्षति पुगेको छ । कार्यालयमा जाने सडक समेत गएरातीदेखि अवरुद्ध बनेको कार्यालयका लेखापाल गौरबदास बैरागीले जानकारी दिनुभयो । जसले गर्दा सेवाग्राही कार्यालयमा जान समस्या भएको छ ।
यसैगरी सोहि खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग समेत पुरिएको छ । गएराती ९ बजेदेखि अवरुद्ध बनेको सडक १२ बजे एकतर्फि खुलाईएको थियो । ठुलो मात्रामा थुप्रिएको ढुंगा माटो नपन्छाएसम्म दुईतर्फि संचालन गर्न कठिनाई भैरहको र अहिले एकतर्फि रुपमा सवारीसाधन आवतजावत गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ जाने सडक खनेपछि यो ठाउँ बाढिको जोखिममा पर्दै आएको हो । वर्षेनी वर्खायाममा बाढीले सताउने भएपनि दिर्घकालीन नियन्त्रणको योजना नबनाउँदा सिंगो बस्तीनै त्रसित बनेको छ ।
कुश्मा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश श्रेष्ठले बाढिका कारण आफु सहित उक्त बस्तीका अधिकांस परिवार समस्यामा परेको बताउनुभयो । बाढिले जोखिम निम्तिएपछि रातभर बस्तीका बासिन्दाहरु जाग्राम बसेका थिए । यो समस्या समाधानका लागि करोडौ बजेट आवश्यक पर्ने श्रेष्ठले बताउनुभयो ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बस्ती संरक्षणका लागि तत्काल योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले नगरको बजेटले मात्र दिर्घकालीन समाधानको योजना बनाउन नसकिने भन्दै प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँका अनुसार जिरो किमिदेखि दलित बस्तीसम्मको खोला किनारलाई ब्यवस्थित गर्दै बाढिको सहज निकासका लागि बैकिल्पक ठाउँ खोज्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!