पर्वत अस्पताल सौन्दर्यकरण गरिँदै, अस्पताल र अन्तर्राष्ट्रिय पर्वत समाजबीच सम्झौता - News site from Nepal

पर्वत, १४ असोज ः पर्वतको एकमात्र सुविधा सम्पन्न सरकारी स्वामित्वको पर्वत अस्पताल सौन्दर्यकरण गरिने भएको छ ।

अस्पतालमा विरामीको आकर्षणका साथै बिरामी कुरुवा र अन्य सेवाग्राहीको सहजताका लागि अन्तर्राष्ट्रिय पर्वत समाजको सहयोगमा सौन्दर्यकरण गर्न लागिएको हो । १५ शैयावाट ५० शैयामा स्तर बृद्धि भएको अस्पतालका भव्य भौतिक संरचनाहरु निर्माण भएपनि बाहिरी परिसर सेवाग्राहीमैत्री नभएको भन्दै अन्तर्राष्ट्रिय पर्वत समाजले सौन्दर्यकरण गर्न पर्वत अस्पतालसँग सम्झौता गरेको हो ।

शनिवार आयोजित पर्वत अस्पताल सौन्दर्यकरण परियोजना निर्माण सम्झौता एवम् शुभारम्भ कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष तथा संरक्षक पुरन गिरी र पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीले सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पत्रमा अस्पतालले पुर्वाधार निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गरिदिने र समाजले तोकिएका सवै संरचनाहरु निर्माण गर्ने उल्लेख गरिएको छ । अब अस्पताल बाहिर बाल उद्यान, खुल्ला व्यायामशाला, अस्पताल परिसर भित्रै पैदलमार्ग निर्माण, सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण, बुद्धको मुर्ति निर्माण, बगैचा, विश्रामस्थल र चौतारी निर्माण गरिने भएको छ । त्यसैगरी ढुंगेधारा लगायत अन्य आकर्षक संरचनाहरु निर्माण गर्ने उल्लेख गरिएको छ ।

सवै संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले रु. ३५ लाख रुपैया लगानी गर्ने भएको छ । सवै कार्य आगामी छ महिना भित्र सम्पन्न गर्ने योजना रहेको पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले आगामी चैत १२ गतेभित्र निर्धारित सवै संरचनाहरु निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समाजले अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आएको भन्दै यस अघि कोभिड कालमा पनि रु. ३५ लाख रुपैया बराबरको सहयोग अस्पताल गरिएको बताउनुभयो ।

विश्वका २७ जिल्लामा शाखा रहेको अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लाको स्वास्थ्य क्षेत्र र विपद व्यवस्थापनमा सहयोग गर्दै आएको गिरीले बताउनुभयो । यस अघि जिल्लाका सवै स्वास्थ्य संस्थालाई रु. तीन/तीन लाख रुपैयाका आवश्यक उपकरण, पहिरोले विस्थापित जलजला-८ लस्तीको दलित बस्ती पुर्ननिर्माण, फलेवास नगरपालिकामा एम्बुलेन्स र पैंयुँ गाउँपालिकालाई शव वहान सहयोग गरेको संरक्षक गिरीले जानकारी दिनुभयो ।

पछिल्लो समय अस्पतालमा बिरामीहरुको आकर्षण बढ्दै गएका बेला अन्तर्राष्ट्रिय पर्वत समाजले सौन्दर्यकरण गर्न थालेपछि अझै प्रभावकारी बन्ने अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले बताउनुभयो । चार वर्ष अघिसम्म दैनिक ५० देखि ८० जना बिरामी आउने पर्वत अस्पतालमा अहिले दैनिक तीन सय भन्दा बढिले उपचार सेवा लिँदै आएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले ५० शैयाको अनुमती नदिँदा पर्याप्त जनशक्ति उपलब्ध हुन नसकेको भन्दै आईसीयू र भेन्टिलेटर भने संचालन गर्न नसकिएको अन्य सवैखालका सेवा सुविधा जिल्लावाटै उपलब्ध हुन थालेपछि पर्वतमात्र नभई बागलुङ, म्याग्दीका बिरामी समेत लाभान्वित भैरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!