जलजलामा सञ्चालित एम्बुलेन्सबाट तीन महिनामै डेढसय जनाले लिए सेवा - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको लक्षित बर्गलाई निःशुल्क एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तिन महिनाको अवधिमा एकसय ४६ जनाले सेवा लिएका छन् ।

एम्बुलेन्स सेवा सञ्चालनका लागि गाउँपालिकाले छुट्टै सचिवालय समेत स्थापना गरेको छ । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असहाय गरिब र अपाङ्गगता भएकाहरूका लागि स्वास्थ्य संस्था जान आउन गाउँपालिकाले गत साउन देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।

चालु आवको असोज महिनासम्म गाउँपालिकाले घोषणा गरेको लक्षित बर्गको निःशुल्क सेवा ७९ जनाले लिएका छन् । यसैगरी ६७ जनाले सःशुल्क सेवा लिएका छन् । यो अवधिमा पैसा तिरेर सेवा लिएकाहरुबाट दुई लाख ३१ हजार तीनसय ९० रुपियाँ संकलन भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाबाट संचालित एम्बुलेन्स सेवा प्रयोग गरेर यो अवधिमा काठमाण्डौंं स्थित अस्पतालमा ४ जना,भरतपुर चितवन अस्पतालसम्म १,पोखरा अस्पताल सम्म ८० जना,बागलुङ अस्पताल सम्म १९ जना,पर्वत कुस्मा अस्पताल सम्म ४ जना,म्याग्दीको बेनी अस्पताल सम्म ३६ जना र जलजला गाउँपालिका भित्र २ जनाले सेवा लिएको गाउँपालिकाको जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा तीनमहिनाको अवधिमा सेवा लिएका सेवाग्राहीको छुटाछुट्टै विवरण समेत सार्वजनिक गरिएको छ । जस अनुसार साउन महिनामा जम्मा ४१ जनाले एम्बुलेन्स सेवा लिएका छन् । जस अनुसार सःशुल्क एम्बुलेन्स सेवा लिएवापत २४ जनाबाट ७७ हजार एकसय ९० रुपियाँ संकलन भएको छ ।

निःशुल्क सेवा लिनेहरुमा अपाङ्ग १ जना,ज्येष्ठ नागरिक ७ जना,सुत्केरी÷गर्भवती ६ जना,असाय गरिब २ र अन्य १ जनाले एम्बुलेन्स सेवा लिएका छन् ।यसैगरी भदौं महिनामा २४ जनाले सःशुल्क र २५ जनाले निःशुल्क एम्बुलेन्स सेवा गरी ४९ जनालाई गाउँपालिकाबाट एम्बुलेन्स सेवा प्रदान गरिएको छ । सःशुल्क सेवा लिए वापत ८४ हजार ८ सय रुपियाँ संकलन भएको छ । सो अवधिमा ज्येष्ठ नागरिक १२ जना,सुत्केरी÷गर्भवती ७ जना,असाय,गरिब ३ जना र अन्य ३ जनाले सःशुल्क सेवा लिएका छन् ।

असोज महिनामा गाउँपालिकाले घोषणा गरेको लक्षित बर्ग निःशुल्क सेवा लिनेको संख्या ३७ र सःशुल्क सेवा लिने १९ जना गरी ५६ जनाले एम्बुलेन्स सेवा पाएका छन् । सो अवधिमा सःशुल्क सेवा लिनेबाट ६९ हजार चारसय रुपियाँ संकलन भएको छ । ज्येष्ठ नागरिक १२ जना,सुत्केरी÷गर्भवती ५ जना,असाय,गरिब १५ जना र अन्य ५ जनाले एम्बुलेन्स सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको साउन देखि गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । एम्बुलेन्स, विपद् व्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई व्यवस्थापन गर्न गाउँपालिका कार्यालय परिसरमा सचिवालय समेत स्थापना गरिएको छ ।
‘तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सञ्चालित एम्बुलेन्स सेवा जलजलामा प्रभावकारी भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिको सेवा प्रवाहको समिक्षा गर्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उहाँको भनाई छ । सञ्चालन भएको एम्बुलेन्स सेवाबाट गाउँपालिकामा बसोबास गर्नुहुने लक्षित बर्गलाई राहत मिलेको उहाँले बताउनुभयो ।

एम्बुलेन्स सेवा सञ्चालन भएपछि छरिएर रहेको ग्रामिण भू–भागमा भनेको समयमा विरामीहरुले अन्य सवारी साधन नपाउने समस्या र चर्को शुल्क भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको भनाई छ ।

वडा कार्यालयको सिफारिसमा सचिवालयका कर्मचारीहरूले समन्वय गरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने, विपद् व्यवस्थापन र सेवा प्रवाहमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । पैसा नलाग्ने १८१०५०००१६८ नम्बरको टोलफ्रिका साथै एम्बुलेन्स चालकलाई २४ सै घण्टा सम्पर्क गरेर सेवा लिन सक्ने व्यवस्था मिलाइएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!