पर्वत- ४५औं विश्व पर्यटन दिवस २०८१ को अवसरमा पर्वतमा अन्तरक्रिया तथा फोटो प्रदर्शनी गरेर मनाइएको छ ।
अन्तरक्रियामा सहभागिहरुले जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायको सक्रियताको खाँचो रहेको औल्याएका छन् । जिल्लाभित्र थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका पर्यटकीय स्थलहरु रहेपनि जिल्लाले उचित लाभ लिन नसकिरहेको भन्दै स्थानीय सरकारहरु अझै सक्रिय हुनुपर्नेमा जोड दिईएको छ ।
तत्कालीन जिल्ला विकास समितिले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरेको भएपनि कार्यान्वयनमा आउन नसकेको भन्दै उक्त गुरुयोजना अनुसार सातवटै पालिकाले काम गर्नुपर्ने सहभागिको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकूले आफ्नो पर्वत जिल्लाको सबै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको विस्तृत रूपमा प्रोफाइल तयार गर्नका लागि सबै स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने र सोको लागि पुन∶ एकपटक जिल्लाका सबै सरोकारवाला पक्षहरू बसेर विस्तृत रूपमा छलफल गरी योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो ।
पर्यटकलाई पर्वत जिल्लामा बास बस्ने वातावरण सबै मिलेर बनाउनुपर्ने दायित्व सिर्जना गर्नुपर्ने उहाँको भनाई छ ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले पर्वतको समग्र पर्यटकीय क्षेत्र समेटेर गुरूयोजना बनाएको भए पनि त्यो ओझेलमा परेको हुँदा पुनः सो गुरूयोजना अनुसारको कार्यक्रम कार्यान्वयनमा सरोकारवाला सबै निकायले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पर्यटक आकर्षण गर्नका लागि पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । पर्वतका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार अझै नपुगेको देखिएकोले रचनात्मक ढङ्गबाट प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका सल्लाहकार एवं कानुन व्यवसायी चन्द्रबहादुर क्षेत्रीले पर्वत जिल्लाको पर्यटकीय क्षेत्रको परिचय, अवस्था, अवसर, चुनौती र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा फर्निचर व्यवसायी भीम बहादुर नेपाली, फोटोग्राफर संघ पर्वतका अध्यक्ष विजय शर्मा, गुप्तेश्वर गुफा संरक्षण समितिका सचिब जगन्नाथ शर्मा, डिभिजनल वन अधिकृत झ्याम नारायण सापकोटा लगायतले बोल्नुभएको थियो ।
पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले पर्वत जिल्लामा पर्यटन उद्योगको द्रुत विकासका लागि प्रभावकारी योजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्रालय मार्फत आवश्यक बजेट तथा कार्यक्रम स्वीकृतिका लागि सरोकारवाला निकायहरूले नियमित रूपमा दवाव दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा पर्वत फोटोग्राफर संघबाट फोटो प्रदर्शनी समेत गरिएको थियो । सो संस्थाले पर्वत जिल्लाका प्रायजसो सबै पर्यटकीय स्थलहरूको प्रतिनिधित्व हुने गरी ३० वटा तस्वीरहरू उद्योग वाणिज्य संघको प्राङ्गणमा प्रदर्शन गरेको थियो ।