
पर्वत १३ साउन ः गत जेठमा सम्पन्न २५६८ औँ बुद्ध जयन्ती मेलावाट संकलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोशाक र स्कुलवसको व्यवस्था गरिएको छ ।
जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा संचालित बनौ युवा क्लबले आयोजना गरेको मेलावाट भएको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई पोशाक वितरण गर्नुका साथै विद्यालयवाट टाढाको दुरीमा रहेका विद्यार्थीलाई निःशुल्क विद्यालय आवजावत गर्न यातायातको व्यवस्था मिलाएको हो ।
बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूको लागि करिब रु. डेढ लाख रुपैयाँको लागतमा ‘ट्रयाकसुट’ वितरण गरेको क्लवका सचिब लुक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको एकमात्र माध्यमिक विद्यालयमा रहेका गरिब, बिपन्न तथा असहाय परिवारका विद्यार्थीलाई प्रोत्साहनका लागि पोशाक वितरण गरिएको हो ।
आइतवार बनौ माविमा एक कार्यक्रमको आयोजना गरी पोशाक वितरण गरिएको हो । कार्यक्रममा जलजला गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष गौबहादुुर पुनले विद्यार्थीलाई पोशाक वितरण गरेर क्लवले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै बिद्यालयको विकास र विद्यार्थीको सहजताका लागि यातायातको समेत व्यवस्था गरेकोमा प्रशंसा गर्नुभएको छ ।
त्यस्तै विद्यालयवाट टाढाको दुरीमा रहेका विद्यार्थीलाई नियमित रुपमा विद्यालय आउजाउ गर्नका लागि यातायातको व्यवस्था समेत गरिएको छ । यसका लागि चालु आर्थिक वर्षका लागि रु. तीन लाख रुपैया बिनीयोजन गरिएको छ । गाउँमै संचालित जीप तथा वसलाई बार्षिक रु. तीन लाख रुपैया दिएर नियमित विद्यालय लैजाने व्यवस्था मिलाईएको क्लवका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो ।

सोमवारदेखि विद्यार्थीहरु पैदल हिडेर विद्यालय जानुपर्ने बाध्यता हट्ने भएको छ । अहिले दैनिक ढेड घण्टादेखि दुईघण्टा सम्म पैदल हिडेर विद्यार्थीहरु बनौ माविमा अध्ययन गर्न आउने गरेका छन् । कतिपय विद्यालय नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यता समेत रहेको क्लवका अध्यक्ष पुनले जानकारी दिनुभयो ।
विहान साढे ८ बजेनै विद्यार्थीलाई पायक पर्ने स्थानमा गाडी पुग्ने र विद्यार्थी समयमै विद्यालयमा आउन पाउने भएकाले उनिहरुको पठनपाठनमा समेत सुधार आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पुनले बताउनुभयो । अब घण्टौ हिँडेर विद्यालय आउनुपर्ने बाध्यतावाट बनौका विद्यार्थी मुक्त भएकोमा विद्यार्थीका साथै अभिभावक र शिक्षक समेत हर्षित बनेका छन् ।
बनौ युवा क्लले बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेदेखि १९ गतेसम्म मेला आयोजना गरएको थियो । उक्त मेलावाट खर्च कटाएर रु. ११ लाख २५ हजार रुपैया मुनाफा भएको थियो । मुनामा मध्ये रु. ५० हजार रुपैया स्थानीय बनौ आमा समुहलाई बाध्यबाधनका सामाग्री तथा पोशाक खरिदका लागि सहयोग गरिएको क्लवका सचिब लुक पुनले जानकारी दिनुभयो ।
मगर समुदायमा आयोजना हुने बुद्धजयन्ती मेलालाई मनोरञ्जन मात्रै नभएर सामाजिक सेवामा जोड्नको लागि पनि विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष राजकुमार पुनले बताउनुभयो । मेलामा खेलकुदसहितका मनोरञ्जनात्मक कार्यक्रमहरू गरिएको थियो ।
क्लबले गरेको सहयोगले विद्यार्थीको पोसाकमा एकरूपता ल्याउन तथा आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाहरूको अध्ययनमा सघाउन पनि सहयोग मिलेको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर पुन बताउनुभयो ।
कार्यक्रममा विद्यालयका अभिभावक टिकाबहादुर फकामी, विद्यार्थी ज्ञानीसा पुर्जा लगायतले बोल्नुभएको थियो ।