पर्वत-पर्वतको कुश्मामा एचआईभी एड्स सम्बन्धी लान्छना र भेदभाव सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा उक्त कार्यक्रम मंगलबार स्वास्थ्य कार्यालय पर्वतमा सम्पन्न भएको हो ।
कार्यक्रममा एचआईभी एड्स रोग लाग्ने कारण, सर्ने तरिका, औषधि उपचार र रोग रोकथामका लागि सरकारले गरेका कामको बारेमा जानकारी गराइएको थियोे । एचआईभीएड्स संक्रमितले नियमित औषधि खानुपर्ने र संक्रमितलाई घर, परिवार र समाजले हेला, अपमान र दुर्ववहार गर्न नहुने स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. रोशन ढकालले बताए । कार्यक्रम बोल्दै स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख प्रविण शर्माले रोगका बारेमा सचेतना फैलाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी, वकिल पत्रकार लगायत नागरिक समाजको महत्त्वपूर्ण भुमिका रहेको बताए ।
पर्वतका केहि स्थानीय सरकारले एचआईभीएड्स रोगको लागि केही बजेट छुट्टाएको बताउदै उक्त रकमले रोगीको औषधि उपचार तथा प्रोत्साहनका कार्यक्रम संचालन हुन मद्दत पुग्ने उनले बताए । पर्वतमा केही संक्रमितहरु नियमित औषधी सेवन नगरी सम्पर्क बिहिन भएका कारण चुनौती थपिएको बताउदै संक्रमितको मनोबल बढाउन सरोकारवालाले चासो दिनुपर्ने बताइएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी, वकिल र पत्रकार लगायतको सहभागीता रहेको थियोे । उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. रोशन ढकाल, हेमराज पौडेल लगायतले गर्नुभएको थियोे भने संचालन स्वास्थ्य कार्यालय पर्वतका एचआईभीएड्स फोकल पर्सन तेज प्रसाद सुवेदीले गरेका थिए ।
असुरक्षित यौनसम्पर्क राख्दा, एचआईभी संक्रमितसँग यौनसम्पर्क राख्दा, संक्रमितसँग सुईको आदानप्रदान गर्दा एचआईभी सर्ने गर्दछ । संक्रमित आमाबाट बच्चामा पनि सर्ने जोखिम हुन्छ ।
एचआईभीबाट बच्ने मुख्य उपाय भनेको असुरक्षित यौनसम्पर्क नगर्नु हो । संक्रमितले नियमित औषधि खानुपर्दछ ।