प्रमुख समाचार

सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल

By लोकतन्त्र अनलाईन

January 26, 2024

म्याग्दी – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ । सरकारले जनतामा आशा जगाउन नसकेका कारण लोकतन्त्र र गणतन्त्रविरोधी शक्तिहरु सलबलाउन थालेको उहाँको भनाइ छ ।

मुलुकको विकास र समृद्धिका योजनाहरु सरकारले अगाडि बढाउन नसकेका कारण जनतामा निराशा छाएको महासचिव पोखरेलले टिप्पणी गर्नुभयो ।

मुलुकका स्थापित राजनीतिक दलहरुले जनतामा अभियान सञ्चालन गरेर आशाको सञ्चार प्रवाह गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नेकपा (एमाले) म्याग्दीको दशौं अधिवेशनलाई शुक्रबार बेनीमा सम्बोधन गर्दै महासचिव पोखरेलले बर्तमान गठबन्धन सरकारले मुलुकको आर्थिक विकास र समृद्धिको योजनालाई अघि बढाउन नसकेको उहाँको भनाइ छ ।

जनताको आशा र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘गठबन्धन सरकार असफल भइसकेको छ । जनताको आशा र अपेक्षाअनुसार काम नगरेका कारण लोकतन्त्रमाथि नै अनेक शक्तिहरुले षडयन्त्र गर्न थालेका छन् ।”

लोकतन्त्र विरोधी शक्तिहरुलाई परास्त गर्न र मुलुकको विकास र समृद्धिका लागि एमालेलाई जनतामा स्थापित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । जनतामा आशा जगाएर लोकतन्त्र र गणतन्त्रप्रति विश्वास जगाउन एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग संकल्प यात्रा गरेको उहाँको भनाइ छ ।

एमालेले सुरु गरे पनि मध्यपहाडी लोकमार्ग यात्रा मुलुककै वृहत अभियान भएको र हजारौं जनता सो अभियानमा सहभागी भएको उहाँले बताउनुभयो । एमालेले थालेको अभियानलाई असफल बनाउन अनेक शक्ति र तत्वहरु लागिपरे पनि जनताको समर्थनले सफल भएको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘जनताको अपार समर्थन र सहभागिताले विरोधी शक्तिहरु कमजोर बने, लोकतन्त्र र गणतन्त्रको काम छैन भन्ने गलत विचारहरु परास्त भए । मुलुकको विकास र समृद्धिका लागि स्थापित राजनीतिक दलहरुप्रति जनतामा आशाको सञ्चार गर्न सफल भयौं । अभियानले एमाले फेरि जनतामा बलियो शक्तिका रुपमा स्थापित भएको छ ।’’

मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताले राखेका मागहरुलाई समावेश गरेर जनताको नासोका रुपमा सरकारलाई केही दिनअघि मागपत्र बुझाएका छौं, उहाँले भन्नुभयो, ‘‘अब जनताले राखेका मागहरु र गुनासाको सम्बोधन सरकारले गर्दछ वा गर्दैन त्यो हामीले हेर्ने बेला आएको छ । एमालेले विरोध मात्र गर्दैन । सरकारलाई सहयोग पनि गर्दछ भन्ने यो उदाहरण हो ।’’

कम्युनिष्ट आन्दोलनको रक्षाका लागि उहाँले अलग–अलग पार्टीका दोकान थाप्न आवश्यक नभएकाले सम्पूर्ण कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुन अनुरोध समेत गर्नुभयो । सामाजमा समानता र न्याय स्थापना गर्न एमाले नै मुलुकको बलियो पार्टी भएको उहाँको दावी छ ।

अधिवेशनमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मालगायतका नेताहरुको सहभागिता थियो ।

शनिबारसम्म सञ्चालन हुने अधिवेशनबाट जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्ने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिनुभयो । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४१९ जना प्रतिनिधिले भाग लिएका छन् ।