डा.पुनद्वारा जलजलाको एक विद्यालयलाई कम्प्युटर सहयोग - News site from Nepal
डा.पुनद्वारा जलजलाको एक विद्यालयलाई कम्प्युटर सहयोग

पर्वत – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ ।

पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका डा. पुनले  कुवापानीस्थित गिद्धेश्वर आधारभूत विद्यालयलाई एक लाख ५५ हजार रुपियाँ मूल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो ।

उक्त कम्प्युटर आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच डा.पुन मगरले वडा अध्यक्ष तिलकबहादुर जिसी र समाजसेवी युवराज अर्मजाको उपस्थितिमा विद्यालय प्रअ राजकुमारी पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टकबहादुर पुनलगायतलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले कम्प्युट सँगै शैक्षिक सामग्री पनि सहयोग गर्नुभएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका डा.पुनले कक्षा पाँचसम्म सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न सहज होस् भन्ने उद्देश्यले विद्यालयलाई कम्प्युटर सहयोग गरेको डा.पुनको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय प्रअ पुनले कम्प्युटर सहयोगप्रति डा.पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । पठनपाठनमा उत्कृष्ट भए पनि बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । विद्यालयमा पुख्र्यौली संस्कार सस्कृती संरक्षण गर्ने उद्देश्यले मगर समुदायको सोरठी नाच समेत सिकाइदै आइएको छ । पाँच कक्षासम्म पढाई हुने विद्यालयमा १६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दुई जना दरबन्दीका र दुईजना निजी स्रोतका शिक्षक अध्यापनरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!