पर्वत – जिल्लाको कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ जेठ ३ गते कुश्मा नगरपालिकालाई पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खोप लगाउने काम निरन्तर चलिरहने प्रक्रिया भएको बताए । उनले नयाँ सन्ततीको उत्पादन हुँदै जाँदा उनीलाई पनि खोप लगाउनुपर्ने भएकाले यो प्रक्रिया निरन्तर चल्ने बताए । नगरप्रमुख जोशीले स्वास्थ्यकर्मीहरुको काम प्रतिको लगावका कारण अहिलेका बालबच्चाले खोप पाएको भन्दै सवै अभिभावकले आफ्ना बालबच्चालाई खोप लगाउन आग्रह पनि गरे ।
कार्यक्रमको वीचमा प्रदेश सभाका सांसद भक्त कुँवर समेतले कार्यक्रम सहभागीता जनाएका थिए । उनले कार्यक्रममा जनताको स्वास्थ्यलाई स्थानीय सरकारले प्राथमिकतामा राख्न अनुरोध गरे ।
नगरप्रमुख स्वस्थानी रिजालले स्वास्थ्यकर्मीले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताइन । प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले
बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
सबै वडालाई पूर्ण खोप प्रमाणीकरण गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले बताए ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकालाई खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुअघि प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको गाँउपालिकाले जनाएको छ ।
वडाहरुलाई पूर्ण खोपको स्थिति कायम गरेकोमा वडाका स्वास्थ्य चौकी प्रमुखहरुलाई प्रमाणपत्र द्वारा सम्मान गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुखहरु, शिक्षक प्रतिनिधि, आमा समूह प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाज्यूहरु लगायत कुश्मा नगरपालिकाका पूर्ण खोप समन्वय समितिका सदस्यहरुको सहभागितामा रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य पिपलटारी स्वास्थ्य चौकी प्रमुख रामबहादुर खडकाले गरेका थिए ।
सदरमुकाममा मात्र हुने पालिका स्तरीय कार्यक्रम यस पटक भने कुश्मा २ खुर्कोटमा आयोजना गरिएको थियो ।