
पर्वत, ३१ असार ः पर्वत र बागलुङ जोड्नेगरी द क्लिफले संचालन गरेको विश्वकै दोस्रो अग्लो बञ्जिपुलवाट बागलुङको बलेवा क्षेत्रका बासिन्दाले निःशुल्क वारपार गर्न पाउने भएका छन् ।
वर्षायामसँगै दैनिकजसो कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नागरिकले सास्ती खेप्नुपरेको भन्दै बागलुङ नगरपालिका वडा नं. ११, १२, १३ र १४ का बासिन्दालाई निःशुल्क पुलवाट वारपार गर्ने सुविधा प्रदान गरिएको हो । अन्य समयमा भने यस क्षेत्रका बासिन्दाले यो पुल वारपार गरेवापत शुल्क भुक्तानी गर्दै आएका थिए ।
द क्लिफले सोमवार सूचना जारी गर्दै बागलुङ नगरपालिकाको अनुरोधमा वर्षायाममा कालीगण्डकी नदि अवरुद्ध भएको समयमा निःशुल्क वारपार गर्ने सेवा प्रदान गर्ने निणर्य गरेको जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे स्थित दब्ल्यांङमा गएको पहिरोले १० दिनदेखि यातायात सेवा ठप्प बनेको छ ।
पुलवाट वारपार गर्नका लागि बलेवा क्षेत्रको स्थायी बासिन्दा भएको स्थान खुल्ने नागरिकता वा अन्य कुनै परिचयपत्र लिएर आउनुपर्ने द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयो । सामुदायिक उत्तरदायित्व अन्तर्गत कम्पनीले निःशुल्क सुविधा दिएको उहाँले बताउनुभयो ।
यो सडक खण्डमा यातायात ठप्प हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोका कारण कालिगण्डकी करिडोर र मालढुंगा कुश्मिसेरा सडक खण्ड पनि अवरुद्ध हुँदा १० दिन देखी दक्षिण बागलुङको सडक सञ्जाल समेत टुटेको छ ।
असार २१ गते शुक्रबार देखीको वर्षाका कारण सडक माथिबाट आएको पहिरोले अवरुद्ध सडक असार २५ गते साँझ केही समय खुलेपनि पुन असार २६ गतेको भारी वर्षाका कारण सडकको भाग पुणर्रुपमा बगाएको छ । बगाएको सडक नियमित वर्षाका कारण पुनःनिर्माणमा समस्या भएपछि सोमवार साँझ सम्म पनि सडक सुचारु हुन सकेको छैन । दब्ल्याङको पहिरोले सडकको भाग गहिराएर बगाएपछि यसको पुनःनिर्माण गरेर यातायात संचालनका लागि अझै एक दुई दिन लाग्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।