पर्वत २७ भदौ ः पर्वतको जलजला गाउँपालिकाले टोलटोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न थालेको छ ।
बढ्दो युवा पलायनका कारण गाउँघरमा बृद्धबृद्धा मात्रै रहेका छन् । जेष्ठ नागरिकहरु विभिन्न रोगहरु लाग्दा समेत अस्पताल जान नसक्दा वा उपचारका लागि लैजाने जनशक्ति नहूँदा रोग पालेर बस्ने गरेको देखिन्छ । अझै आर्थिक रुपमा विपन्न र अशक्त जेष्ठ नागरिकहरु विभिन्न रोग लागेपनि तत्काल अस्पताल जान नसक्ने अवस्थालाई मध्यनजर गर्दै घरघरमै पुगेर स्वास्थ्य परिक्षण गर्न थालिएको हो ।
जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरि परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । जेष्ठ नागरिकहरुको उच्च रक्तचाप, मधुमेह, रगत, दिशापिसाव, मुटुरोग,ग्याष्ट्रक, पायल्स, फिस्टुला लगायतको परिक्षण गर्ने गरिएको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत पहिलोपटक स्वास्थ्यकर्मीहरु टोलटोल र घरघरमा परिचालन गरिएको उहाँकले बताउनुभयो ।
जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पालिका भित्रका ९ वटा वडाका ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मी परिचालन गरेको बताउनुभयो । ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको स्वास्थ्य समस्या र आवश्यकता पहिचान गरि सहायता सामग्री र औषधी सहयोग गरिने उहाँले बताउनुभयो । स्वास्थ्य परिक्षण सँगै उनिहरुलाई निःशुल्क औषधी समेत वितरण गरिने भएका छ ।
नियमित सेवन गर्ने औषधी, रक्तचाप, पिसाव परिक्षण, रगतमा गुल्कोजको मात्रा, पोषणको अवस्था, आँखा, कान, स्मरणशक्ति, गतिशिलता लगायतका विषयमा परिक्षण गर्न थालिएको स्वास्थ्य शाखा संयोजक मल्लले बताउनुभयो । मल्लका अनुसार परिक्षणका क्रममा गम्भिर समस्या देखिएका नागरिकहरुलाई थप उपचारका लागि अस्पतालमा समेत रिफर गरिने भएको छ ।
सडकको सुविधा पुगेका र आर्थिक रुपमा सक्षम भएका जेष्ठ नागरिक सहजै अस्पतालसम्म उपचारका लागि जाने भएपनि विकट र आर्थिक रुपमा समेत विपन्न र सहारा बिहीन नागरिक यो कार्यक्रमवाट बढि लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षणसँगै औषधी समेत निशुल्क वितरण गर्ने गरिएको छ ।
गम्भिर समस्या देखिएका र रिफर गर्नुपर्ने बिरामीलाई गाउँपालिकाकै एम्बुलेन्सवाट निःशुल्क रुपमा अस्पताल पुर्याउने गरिएको छ । छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल र धौलागिरि अस्पताल बागलुङ र त्यहाँवाट पनि सम्भव नहुने बिरामीहरुलाई पोखरासम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आईएको अध्यक्ष आचार्यले बताउनुभयो ।
जेष्ठ नागरिकको नसर्ने रोगको स्कृनिङ शिविरका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष वि.सं. २०८१/०८२ मा रु. छ लाख बजेट बिनियोजन गरेको छ । उक्त बजेटले समेत अपुग भएमा कार्यपालिकाको वैठकवाट थप व्यवस्थापन गरिने पालिकाले जनाएको छ ।