भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको प्रगति ९५ प्रतिशत - News site from Nepal
भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको प्रगति ९५ प्रतिशत

पर्वत – गण्डकी प्रदेशका ५ वटा जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले चालु आर्थिक वर्षमा ९५ प्रतिशत प्रगति हासिल गरेको छ ।  कार्यलयमार्फत आर्थिक वर्ष २०८०÷०८१ मा बजेट बिनीयोजन भएका १६६ वटा योजना निर्माण सम्पन्न भएका छन् ।

कार्यालय प्रमुख दिवाकर पौडेलले म्याग्दीमा १९, बागलुङमा ४७, मुस्ताङमा ९, पर्वतमा ४५ र स्याङ्जामा ५३ वटा नदी, बाढी र पहिरो नियन्त्रण सम्बन्धी योजना निर्माण भएको जानकारी गराउनुभयो ।

“पुजिगत शिर्षकमा १७३ वटा योजनाका लागि रु. ८ करोड ९१ लाख ५० हजार बजेट बिनियोजन भएकोमा ७ वटा बाहेक सबै कार्यान्वयन भए,” उहाँले भन्नुभयो “५९ हजार ४७ श्रमदिन रोजगार सिर्जना भएका यी आयोजनाहरुबाट ३ हजार घरधुरीका ३० हजार जनसंख्या लाभान्वित भएका छन् ।”

उपभोक्ता समितिहरु मार्फत योजना कार्यान्वयन गर्न रु. ८ करोड २७ लाख ७ हजार खर्च भएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा ग्यावीयन पर्खाल, तटबन्ध निर्माण गर्ने, भलबाढी तर्काउने नाली निर्माण, खोल्सी संरक्षण, पोखरी निर्माण र मर्मत सम्बन्धी काम भएको छ ।

समग्रमा ९५ प्रतिशत भौतिक र ८८.९४ प्रतिशत वित्तीय प्रगति भएको उहाँले जानकारी गराउनुभयो । १४ वटा पानीका मुहान संरक्षण र १३ वटा पोखरी निर्माण तथा मर्मत सम्भार गरिएको छ । कार्यालय अन्र्तगतका नर्सरीहरुमा ६५ हजार घाँसका बिरुवा उत्पादन गरि कृषकलाई वितरण गरिएको छ ।

आगामी वर्ष कुल रु. १२ करोड ९० लाख बजेट प्राप्त गरेको कार्यालय मार्फत कार्यान्वयन हुने पर्वतमा ५१, बागलुङमा ४६, स्याङ्जामा ३८ र मुस्ताङमा ८ वटा योजना छनौट भएका छन् । योजनाको सार्वजनिकीकरण तथा प्रगति समिक्षा कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, पैंयु गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना लगायतले सुझाव तथा प्रतिकृया दिनुभएको थियो ।
योजनाहरु बास्तविक आवश्यकताको आधारमा प्राथमिकिकरण गरेर संचालन गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!