लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वत जेसीजको सप्ताह आजदेखि सुरु , शिक्षिका चापागाईँलाई आर्थिक सहयोग - News site from Nepal

पर्वत : पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित सोमबारदेखि जेसीज सप्ताह–२०२४ सुरु गरेको छ ।
जेसीज सचिवालयको सभा हलमा आयोजित समुद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रमबाट यस वर्षको सप्ताह सुरु गरिएको हो ।
कार्यक्रम शुभारम्भपछि बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले युवाहरूको नेतृत्व विकासका लागि जेसीज महत्त्वपूर्ण रहेको बताए । कहीँबाट आउने बजेट र कोष नहुँदा नहुँदै पनि आफ्नो खाजा खर्च कटाएर सामाजिक सेवा सहित नेतृत्व र क्षमता विकासमा लाग्नु सह्रानीय रहेको उनको भनाइ छ । देशका युवाहरू धमाधम बिदेसिँदा राज्यले सोच्नुपर्ने अवस्थामा बरु जेसीजले युवाहरूमा सकारात्मक सोचको विकास गराउँदै युवाहरूमा नेतृत्व सीप दिएर यहीँ रहन थोरै भए पनि सहयोग गरेको अधिकृत पौडेलले बताए । जेसीजको कामले युवा युवतीहरूलाई विकृति र विसङ्गतिमा लाग्न नदिएर सभ्य र असल नागरिक निर्माणमा पनि भूमिका खेलेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले साताव्यापी रूपमा गर्न लागिएका आठ वटा कार्यक्रमहरूको बारेमा जानकारी गराए । जेसीजमा आबद्ध सदस्यहरूले आफ्नो खाजा खर्च कटाएर भए पनि सामाजिक सेवामा गरिरहेको योगदानको उनले प्रशंसा गरे । पर्वत जेसीजले वर्ष २०२४ मा ‘युवाको विकासको लागि, सकारात्मक सोचाई’ भन्ने नारा सहित विभिन्न सामाजिक कामहरू सहित जेसीहरुको क्षमता विकासका लागि पनि काम गरिरहेको उनको भनाइ छ ।
अध्यक्ष पौडेलकै अध्यक्षतामा भएको कार्यक्रममा पर्वत जेसीजका मानार्थ सदस्य वसन्त बहादुर सी.के, पूर्व अध्यक्ष जेसीआई सिनेटर हिमबहादुर पौडेल क्षेत्री, पर्वत जेसीजका पूर्व अध्यक्ष तथा पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष जेसी विनोद कुमार श्रेष्ठले पनि कार्यक्रममा शुभकामना राख्नुभयो । कार्यक्रमको सञ्चालन पर्वत जेसीजका महासचिव अमृतप्रसाद पोख्रेलले गरेका थिए ।
सोही कार्यक्रममा पर्वतको महाशिला गाउँपालिकाकी शिक्षक सरिता चापागाईँको उपचारमा सघाउन उनको परिवारलाई २२ हजार एक सय ११ रुपैयाँ पनि हस्तान्तरण गरिएको छ । एक वर्ष अगाडि दुर्घटनामा परेर हालसम्म पनि पूर्ण होस नआएर पोखराको जरेबरमा उपचाररत चापागाईँको उपचारमा आर्थिक समस्या भएपछि पर्वत जेसीजले सहयोग अभियान चलाइरहेको छ ।
सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक अच्युत पौडेलका अनुसार अब ‘स्लो बाइक रेस’ प्रतियोगिता तथा ‘ट्राफिक’ सचेतनामूलक कार्यक्रम, पर्वत जेसीज र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाबिच मैत्रीपूर्ण ‘फुटबल’ प्रतियोगिता, पर्वत कारागारमा पुस्तक हस्तान्तरण, जेसीज गाऊँ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, बाटुलेचौरको कालिका भगवती मन्दिरमा घण्ट प्रतिष्ठा तथा पूजा सामग्री हस्तान्तरण, पर्वत जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता र जेसीज सङ्गम कार्यक्रम आयोजना गरिने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!