भू-संरक्षण दिवस – पर्वतमा बृक्षारोपण र बक्तृत्वकला प्रतियोगिता सम्पन्न - News site from Nepal

पर्वत  – आज भूसंरक्षण दिवस-२०८१ । पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा एवं शिवालय माध्यमिक विद्यालयको समन्वयमा दुई कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
शिवालय माध्यमिक विद्यालय कुश्मामा ‘जलवायु उत्थानशीलताको आधार, व्यवस्थित जलाधार’ भन्ने नाराका सहित आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा विभिन्न ११ वटा विद्यालयका २१ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
करिब प्रति सहभागी करिब १० मिनेट समय प्रदान गरिएको प्रतियोगितामा वक्तृताको शीर्षक ‘नेपालमा भूसंरक्षणको आवश्यकता र महत्त्व’ राखिएको थियो ।
जसमा नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकी छात्रा सजता गिरी प्रथम, सोही विद्यालय विन्ध्या लामिछाने द्वितीय र विश्वज्योति माध्यमिक विद्यालय पकुवाका शिव प्रसाद सुवेदी तृतीय भएका छन् । सान्त्वना स्थानमा शिवालय माध्यमिक विद्यालयकी सृष्टि नेपाली, सोही विद्यालयकै सिवानी शर्मा र आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकी सफलता थापा आएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः छ हजार, पाँच हजार, तीन हजार र सान्त्वना स्थानमा आएका तीन जनाले प्रतिव्यक्ति दुई हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता बनेका तथा सहभागी भएका विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको छ ।


दिवसकै अवसरमा आज बिहान शिवालय माध्यमिक विद्यालयमा नै वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयको आयोजना तथा शिवालय माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा आवश्यक पर्ने बिरुवाहरू डिभिजन वन कार्यालय पर्वतले उपलब्ध गराएको थियो ।
धूपी, कल्की, पारिजात, गुलमोहर, तेजपात, लगायतका बिरुवाहरू रोपिएको हो । दुवै कार्यालयका प्रमुख तथा कर्मचारीहरू तथा शिवालय माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले संयुक्त रूपमा वृक्षारोपण गरेका हुन् ।
बृक्षारोपण कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६का वडा अध्यक्ष इश्वर गिरीको प्रमुख आतिथ्यता रहेको थियोे भने बक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा रहनुभएको थियो ।


भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलको अध्यक्षतामा दुवै कार्यक्रम सम्पन्न भएका थिए । दिवसलाई रचनात्मक र जनमुखि बनाउनका लागि बृक्षारोपण र विद्यार्थीहरुबीच बक्तृत्व प्रतियोगिता आयोजना गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!