पर्वत २० असोज ः नेपालीहरुको महान पर्व बडादशैको अवसरमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागिहरुबीच बडादशै, दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष झलक रिमालले वडावासीहरुको चाहाना र माग बमोजिमका कार्यक्रहरु संचालन भैरहेको बताउनुभयो । समग्र वडाका भौतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको बिकासका लागि विभिन्न योजनाहरु संचालन भएको जानकारी उहाँले गराउनुभयो ।
सो अवसरमा अध्यक्ष रिमालले गत आर्थिक वर्ष २०८०/८१ म वडा कार्यालयमार्फत संचालन भएका योजना र बजेटको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले नगरपालिकावाट वडा कार्यालय मार्फत कार्यान्वयन भएका योजनाहरुको प्रगतिविवरण प्रस्तुत गर्दै बजेट तथा कार्यक्रमहरु पारदर्शि रुपमा संचालन गरिएको बताउनुभयो ।
सार्वजनिक सुनुवाईकै अवसरमा स्थानीय लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थियो । सदरमुकामसम्म आउन नसक्ने बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै गरिमा बिकास बैंक कुश्मा शाखासँगको समन्वय गरी वडा कार्यालयवाटै भत्ता वितरण गरिएको हो । वडा नंं. १२ का एक सय ४० जना लाभग्राहीले एकैदिन सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको सामाजिक परिचालक रमेश पौडेलले गर्नुभएको थियो ।
अध्यक्ष झलक रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।