कालीगण्डकी र सेतीखोला उर्लेपछि सेतीवेणी बजार उच्च जोखिममा, शालिग्राम शिला डुवानमा - News site from Nepal

पर्वत २२ असार  ः केहि दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणीबजार डुवानमा परेको छ ।

सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार स्थित सिंहप्रसाद ह्याईजुको घर समेत भत्किएको छ । भने बजारमा बाढी पस्न थालेपछि जनजीवन त्रसित बनेको छ । पर्वत, स्याङजा र गूल्मीको संगम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणी र स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ मा रहेको विश्वकै ठुलो शालिग्राम शिला पुणर् रुपमा डुवानमा परिसकेको छ ।

कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेपछि शिलामा जाने वाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुविसकेको र बजार समेत उच्च जोखिममा रहेको सेतीवेणी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक सन्देश भण्डारीले जानकारी दिनुभयो ।

कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ । मुस्ताङ, म्याग्दी, पर्वतमा ठुलो वर्षा भएका कारण कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको छ । वर्षा नरोकिए केहि बेरमा बजारसम्म आइपुग्ने र पसलहरुमा समेत क्षति पुग्ने अवस्था देखिएको स्थानीय तीलक पराजुलीले बताउनुभयो ।

शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरु समेत विस्थापित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाब अत्याधिक उर्लिएका कारण पनि पर्वततर्फ र स्याङजातर्फका दुवै बजार तर्फ कटानको जोखिम बढ्दै गएको परालुलीले बताउनुभयो ।

कालीगण्डएकी ए जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । नदिमा बहाब बढेपछि कालीगडकी जलविद्युत आयोजनाको बाँधका सवै ढोकाहरु खोलिएको छ ।

दुवै खोलाको बहाब बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजा तर्फको बजार क्षेत्रका झण्डै दुई सय ब्यापारी तथा सर्वसाधरणहरु त्रसित बनेका छन् ।

विगत १५ वर्ष अघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो ।

स्थानीय प्रहरी चौकीका इन्चार्ज भण्डारीका अनुसार अहिले वर्षा अत्याधिक भएकाले पानीको बहाब अझै बढदो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!