पुग्नैपर्ने ठाउँ पर्वतको प्रसिद्ध पर्यटकीय स्थल बाटुलेचौर पुर्वाधारले सम्पन्न बन्दै - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा झण्डै रु. ढेड करोडका पर्यटन पुर्वाधार थप गरिएको छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक तथा भक्तजनहरुको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारवाट गरी रु. डेढ करोड बराबरको पुर्वाधार थप गरिएको हो । कालीका भगवती मन्दिर र शिवको विशाल मुर्ति समेत रहेको बाटुलेचौरमा आउने भक्तजन र पर्यटकको सहजताका साथै बाटुलेचौर परिसरको आकर्षण बृद्धिका लागि पुर्वाधार निर्माण गरिएको बाटुलेचौर कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय ८ वटा भन्दा बढि बर पिपलका चौतारी निर्माण गरिएको छ । बरपिपलका चौतारी भने समुदायको साझेदारीमा निर्माण गरिएका हुन् । बर पिपल रोप्न चाहने हरेक व्यक्ति वा परिवारले रु. दश हजार रुपैया बराबरका चौतारी निर्माण गरेका छन् । यस्ता चौतारी एक सय २४ वटा रहेको पौडेलले बताउनुभयो । विशेषगरी शनित्रयोदशीमा एक सय ८ पिपल चौतारी घुम्न र पुजा गर्नका लागि यहाँ विभिन्न जिल्लावाट दर्शनार्थीहरु आउने गरेका छन् । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

त्यसैगरी मन्दिर परिसरमै सत्तलहरु निर्माण गरिएको छ । भने मन्दिर परिसरमा घुम्न र दर्शनका लागि आउने जेष्ठ नागरिकहरुका लागि जेष्ठ नागरिक दिवा केन्द्र समेत निर्माण गरिएको हो । शहरी विकास तथा भवन डिभिजन कार्यालय मार्फत रु. ९९ लाख रुपैयाको लगानीमा भवन निर्माण गरिएको छ । पुर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारवाट रु. २५ लाख, कुश्मा नगरपालिकावाट रु. १० लाख बिनीयोजन भएको थियो । चालु आर्थिक वर्षमा पनि रु.२० लाख रुपैया बिनीयोजन भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यसैगरी भगवान शिवको अग्लो मुर्ति पनि निर्माण गरिएको छ भने बाटुलेचौर मन्दिर प्रवेश गर्ने पुर्व, पश्चिम दुवैतर्फ आकर्षक प्रवेशद्धार समेत निर्माण गरिएको छ । त्यसैगरी मन्दिर परिसर, पिपल चौतारी हुँदै प्रवेशद्धारसम्म आकर्षक पदमार्ग र विभिन्न कार्यक्रमहरु संचालनका लागि मञ्च निर्माण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

सदरमुकाम कुश्माबजारवाट १२ किलोमिटरको दुरीमा रहेको यो मन्दिरमा पछिल्ला केहि वर्ष यता दर्शनार्थी मात्र नभई आन्तरिक तथा बाह्य पर्यटक समेत घुम्न, विभिन्न म्युजिक भिडियो र बृत्तचित्रहरुको छायांकन गर्न समेत आउने गरेका छन् । यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल सुविधा समेत विस्तार भएका छन् । बाटुलेचौर पछिल्लो समय धार्मिक एवम् पर्यटकीय हिसावले गन्तब्यको रुपमा विकास हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताउनुभयो । यहाँ पुग्न पक्की सडकको पहुँच रहेको छ । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा पनि प्रकाशित छ ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पुजाआजा तथा मन्दिरहरुको निर्माण गरिएको किम्वदन्ती रहेको स्थानीयवासीहरुको भनाई छ । भृगु ऋषिको तपस्या स्थल समेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाहरुको समेत संरक्षण नहुँदा चोरी भएका थिए । संरक्षण अभावमा हाल रहेको मन्दिरका विभिन्न पुरातात्विक समानहरु समेत विभिन्न समयमा हराईसकेका छन् । स्थानीयवासी युगनाथ पौडेलका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा करिब २ सय वर्ष पुराना संरचना भएको भएपनि विक्रम संवत १९७० सालमा स्थानीय पंडित कृतिनाथ उपाध्यायले निर्माण गरेपछि नियमित पुजा हुँदै आएको हो ।

छिमेकी जिल्ला बागलुङको बागलुङ कालीका मन्दिर जस्तै प्रसिद्धि कमाएको बाटुलेचौरमा टाढाटाढावाट दर्शनार्थीहरु पुजापाठका लागि आउने गर्दछन् । यहाँ विशेषगरी बडादशै, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्री लगायतका चाडपर्वमा भब्य मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थी समेत आउने गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यहाँवाट पर्वत सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानहरुका साथै अन्नपुणर्, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमश्रृङ्खलाहरु पनि स्पष्ट दृश्याबलोकन गर्न सकिन्छ ।

यसैबीच बाटुलेचौरको प्रवद्र्धन र प्रचारप्रसारका लागि यस वर्षको हरितालिका तीजको अवसरमा दोस्रो बाटुलेचौर तीज मेला आयोजना गरिएको छ । आगामी भदौ २१ गते हरितालिका तीजको अवसरमा बाटुलेचौर कालीका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठुलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गरिएको हो ।

मेलामा मौलीक तीज गित प्रतियोगिता, विद्यालय तथा खुल्ला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती राखिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!