पर्वत- बिहान उठेपछि नुहाएर ढाका टोपीसहितको औपचारिक पोसाकमा चिटिक्क पर्छन् । उनको जागिरलाई समयको सीमा छैन । बिहानदेखि राति पनि खटिनुपर्ने बाध्यता छ । फर्केर कतिबेला घर आइपुगिन्छ भन्ने पनि समय तोकिएको छैन ।
६२ वर्षका उनको सक्रियता भने लोभलाग्दो छ । कहिले राजधानी, कहिले विभिन्न कार्यक्रम, सभा–समारोह । विपदका घटनामा नपुगी सुखै छैन । ती घटनामा पुगेर फर्कंदा रातदिन, झरीबादल भन्न पाइँदैन । खानाको त ठेगानै हुँदैन । परिवारलाई साथ दिने समयसमेत पुग्दैन । छिटफुट रूपमा कुनै दिन भने फुर्सद पाउँछन् । छिट्टै डेरामा पुगेर नुहाउने, लुगा धुने काम गरेर फर्कन्छन् । उत्तिबेलै फोन आयो भने कामै छाडेर कुद्नैपर्छ ।
यति व्यस्त दैनिकी भएका उनी हुन् पर्वत फलेवास नगरपालिका–९ भँगराका लोकबहादुर खत्री । ३२ वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा चालक पदमा कार्यरत उनले ३२ वटा सीडीओका गाडी चलाइसकेका छन् । वर्षको एक जना मात्रै सीडीयो फेरिँदा उनले ३२ जनालाई गाडीमा घुमाइसकेका छन् । एक/दुई महिना आएर फर्केकाको त गणना नै छैन ।
हरेक वर्ष फेरिने सीडीओले जिल्लाका सबै स्थान घुम्नैपर्छ । बाढीपहिरो, आगलागी, दुर्घटनामा उद्धारमा खटिने तथा घटनास्थल पुग्नैपर्ने बाध्यताले चौबिसै घण्टा चनाखो बन्नुपर्ने उनको बाध्यता छ ।
प्रमुख जिल्ला अधिकारी मात्र हैन, सहायक प्रजिअदेखि कार्यालयका अन्य कर्मचारी लिएर कुनै कार्यक्रममा पुग्नुपर्ने पनि हुन्छ । त्यसबाहेक जिल्लामा आउने भीआईपीको सवारीमा पनि उनी नै खटिन्छन् । पछिल्लो दशक पर्वतमा भीआईपीको चहलपहल पनि निकै भयो । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू त धेरै पटक आए । लामो समय अवधिमा अन्य धेरै कार्यालयका चालक फेरिए तर सीडीओका चालक फेरिएका छैनन् । उनको कामलाई धेरैले मन पराउँछन् । जिल्लाका प्रशासकको त उनी पहिलो रोजाइमा पर्छन् । त्यसैले अझै पनि कुशल सवारी चालकका रूपमा काम गरिरहेका छन् ।
‘उमेरले डाँडो काटिसक्यो, त्यसैले अब छाड्नुपर्ला भन्ने लागेको छ,’ खत्रीले भने, ‘अब आँखाले पनि पूर्ण रूपमा साथ नदेला ।’ तर सीडीओको नजरमा खत्री सफल चालककै रूपमा चिनिएका छन् ।
यसअघि खत्रीले दशकसम्म भारतमा पनि काम गरेका थिए । भारतीय सेनामा भर्ती हुने उनको चाहना थियो । तौल ४५ केजी मात्र भएकाले उनी भर्ना हुन पाएनन् । भारतको लखनउ पुगिसकेपछि रित्तै घर फर्कन नचाहेका उनले मोटरपार्ट्स कम्पनीमा काम गरे । ११ वर्षसम्म मोटरपार्ट्सको काम गर्दा सवारी चलाउन सिके । भारतका प्रमुख सहरमा जिप चलाएर पुगे । सन् १९७७ देखि १९८८ सम्म काम गरेर उनी फर्केका थिए । त्यतिबेला पर्वतको भँगरादेखि स्याङ्जाको नाउँडाँडा हुँदै हिँडेर गएको सम्झन्छन् । गाउँ फर्केर पनि उनले केही समय निजी क्षेत्रका गाडी चालककै रूपमा काम गरे ।
२०५० भदौमा तत्कालीन प्रमुख जिल्ला अधिकारी माधव ओझाले उनलाई अस्थायी पदमा नियुक्ति दिएका थिए । उनको काम मन परेपछि म्याद थपियो । क्रमशः उनी स्थायी भए । २०७५ मा २४ वर्ष सेवा गरेपछि उनी उमेर हदले निवृत्त भए । सहायक स्तर ५ औं पदको पेन्सन थाप्ने खत्रीको काम प्रमुख जिल्ला अधिकारीहरूलाई औधी मन पर्यो । त्यसपछि करारमा बसेका खत्रीले थप ६ वर्ष बिताइसकेका छन् ।
सीडीओको चालक बन्ने काम कठिनको हो । हरेक कुराको गोपनीयता चाहिन्छ । ‘प्रशासकले गाडी चढेकै बेला धेरै सुरक्षाका योजना बनाउने गर्छन्, त्यो कुरा गोप्यता चाहिन्छ,’ पर्वतका एक पूर्वप्रजिअले भने, ‘चालकले गडबडी गरिदियो भने सुरक्षा समितिका धेरै योजना असफल हुन्छन् ।’ कतिपय सीडीओले पटकपटक चालक फेर्ने गरेको समेत उनले अनुभव सुनाए । लोकबहादुरमा त्यो इमान्दारिता देखेको उनको अनुभव छ ।
उनको सक्रियता देखेर कर्मचारी दंग छन् । ‘धेरै मिहिनेत गर्छन्, सबैको प्यारो भएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले भने, ‘अब दक्ष चालक भेटेमा परिवर्तन गर्ने कुरा छ ।’ खत्रीले पनि दक्ष चालक भए काम छाड्ने भनेर तयारी गर्न आग्रह गरेको उनले सुनाए । बुढ्यौली लागेकाले आँखाको समस्या भइहालेमा चालक बन्न अप्ठ्यारो पर्ने उनले सुनाए । उनका केही रमाइला घटना छन् । सधैं औपचारिक पोसाकमा निस्कने बानीले प्रमुख जिल्ला अधिकारी भन्दा पहिला माला लगाएको उनको अनुभव छ । ‘कहिले सीडीओ सर अनौपचारिक पोसाकमा हिँड्दा मलाई भेट्नेले पहिलो माला लगाइदिएका छन्,’ खत्रीले भने, ‘अप्ठ्यारो लागेर सीडीओ सर उता हुनुहुन्छ भनेर देखाइदिएँ ।’
जिल्लामा आएका सेवाग्राहीले खत्रीमार्फत सुझाव दिएको उनले बताए । ‘कुनै सीडीओको काम मन परेन भने मलाई सुनाउने धेरै छन्,’ उनले भने, ‘कतिले प्रशंसा पनि गरेका छन् ।’ प्रशंसा र आलोचनालाई मिलाएर प्रमुखलाई सुनाउने गरेको उनको अनुभव छ । उनको जागिरे अवधिमा प्रमुख जिल्ला अधिकारीका चारवटा गाडी फेरिए । सबै गाडी उनैले चलाएका हुन् ।
२०५० देखि २०६५ सम्म चलाएको जापनिज गाडी १५ वर्षपछि गृह मन्त्रालयमा फिर्ता पठाइयो । ‘लामो समय चलाएको गाडी अझै जीर्ण भएर मन्त्रालयमा देखिन्छ,’ उनले भने, ‘पुगेको बेला हेरेर फर्कन्छु ।’ गृहले आजकल सीडीओलाई स्कोरपियो दिएको छ । नयाँ गाडीमा साइरनसमेत जोडिएको छ । महँगो गाडीमा गुड्दा मज्जा आउँछ तर पुरानो गाडी चलाउँदा पाएको सम्मान र इज्जत भने घटेको उनको अनुभव छ ।
इकान्तिपुरवाट साभार