लक्ष्मण सापकोटा
पर्वत- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल आइतवार सकिएको छ ।
नेकपा एमालेको तर्फवाट राष्ट्रियसभा अध्यक्ष बन्नुभएका तिमिल्सिनाले अध्यक्ष बने लगत्तै पार्टीका सवै जिम्मेवारी त्याग्नुभएको थियो । आइतवार कार्यकाल पुरा भएसँगै संघीय संसदले उहाँ लगायत १९ जनालाई बिदाई गर्यो । राष्ट्रिय सभाको जिम्मेवारीवाट विदाई भएलगत्तै सोमवारदेखि पुनः तिमिल्सिनाले नेकपा एमालेको सक्रिय राजनीति शुरु गर्नुभएको छ ।
६ वर्ष लामो अवधिपछि पहिलोपटक सोमवार नेकपा एमाले जिल्ला कमिटि पर्वतले पार्टी कार्यालयमा आयोजना गरेको शुखानीका सहिद स्मृति सभामा सरिक हुनुभएको हो । सत्ता र राजकिय पद भनेको अस्थायी कुरा भएको भन्दै आफु पुःन सक्रिय राजनीतिमा लागेको उहाँले बताउनुभयो । आफु राष्ट्रिय सभा अध्यक्ष भएको देन समेत नेकपा एमालेनै भएको भन्दै पुनः राजनीतिमार्फत जनताको सेवा गर्न अघि बढेको बताउनुभयो ।
आफु नेकपा एमालेको पोलिटव्यूरो सदस्य भएका बेला नेकपा एमाले गण्डकी प्रदेशले राष्ट्रिय सभा सदस्यका लागि सिफारीस गरेको र पछि पार्टी अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय कमिटिले राष्ट्रिय सभा अध्यक्षकै जिम्मेवारीमा पठाएकाले पार्टीले पठाएअनुसारको जिम्मेवारी इमान्दारीपुर्वक सम्पन्न गरेको उहाँको भनाई छ । आफनो जन्मभूमि र कर्मभूमि समेत पर्वत भएकाले जिल्लावाटै सक्रिय राजनीतिको शुरुवात गरेको उहाँले बताउनुभयो ।
तिमिल्सिनाले अब आफुलाई पार्टीले जुनसुकै जिम्मेवारी दिएपनि स्वकार्य हुने बताउनुभयो । मलाई यो पद चाहियो भनेर अध्यक्ष वा पार्टी नेतृत्वलाई अप्ठ्यारोमा नपार्ने उहाँको भनाई छ । पार्टीका विभिन्न तहमा वा राजकीय जिम्मेवारी जे दिएपनि सहज रुपमा स्वीकार गरेर काम गर्ने उहाँको भनाई रहेको छ । पद पाएपनि या नपाएपनि पार्टी काममा सक्रिय हुने उहाँले बताउनुभयो । मलाई यो पद चाहियो भनेर मैले माग्दिन तिमिल्सिनाले भन्नुभयो-‘जुनसुकै पद र जिम्मेवारी दिएपनि म सक्रिय भएर काम गर्छु ।’
तिमिल्सिनाले ६ वर्षे कार्यकालमा राष्ट्रिय सभालाई पक्षपात रहित ढंगले संचालन गरेको दावी गर्नुभयो । राष्ट्रिय सभालाई तटस्थ बनाउने चुनौती थियो, अर्को आफ्ना कारणले एमालेको शिर निहुराउन नपरोस भन्नेमा सचेत रहेको र दुवै कुरामा गर्व गर्न लायक काम गरको उहाँको भनाई । उहाँले नेकपा एमालेलाई २०८४ सालमा एकल बहुमत ल्याउन सक्ने पार्टी बनाउनका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, केन्द्रीय सदस्य सुर्य पाठक, संविधान सभा सदस्य बिकास लम्साल, गण्डकी प्रदेश कमिटिका उपसचिब मञ्जु अधिकारी, गण्डकी प्रदेश सांसद मित्रलाल बस्याल, भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायतले सम्वोधन गर्नुभएको थियो ।
यस अघि तिमिल्सिनालाई फुल माला सहित पार्टीमा भव्य स्वागत गरिएको थियो ।
नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष पदमपाणी शर्मा र संचालन सचिब गोविन्द पहाडीले गर्नुभएको थियो ।