पर्वत उवासंघको ४१ औ साधारणसभा ः विकासका लागि साझा एजेण्डा आवश्यक ः अध्यक्ष ढकाल - News site from Nepal

पर्वत – नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको विकासका लागि साँझा एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।

पर्वत उद्योग बाणिज्य संघको ४१ औँ बार्षिक साधारण सभा तथा १८ औँ अधिवेशनको आइतवार कुश्मामा उद्घाटन गर्दै ढकालले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । उहाँले आर्थिक हिसावले मुलुक अस्तव्यस्त बनेको बेला सवै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष ढकालले उद्योग, कलकारखाला खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकासँगै उर्जा, जलश्रोत, पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । उहाँले कोभिड-१९, रसिया-युक्रेन युद्धका साथै सरकारको आर्थिक नीतिका कारण अर्थतन्त्र धरासायी बनेको बताउँदै अब भने सुधार हुँदै जाने बताउनुभयो । जति बिग्रिने हो त्यति अर्थतन्त्र बिग्रिसकेको बताउँदै अब सुधार हुँदै जाने उहाँले दावी गर्नुभयो । यहाँभन्दा बिग्रिने ठाउँ छैन उहाँको भनाई छ । अध्यक्ष ढकालले उद्योग बाणिज्य महासंघको निरन्तरको दबाबपछि राष्ट्रबैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजि क्षेत्रको विकास र व्यावसायीको हितका लागि महासंघले काम गर्दै आएको बताउनुभयो ।

ढकालले पर्वतको विकासको लागि लगानीमैत्री वातावरण बनाउने संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारहरुबिचमा समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीहरुले उल्झन व्यहोर्नु परेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक बर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धी हुने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले पर्यटनको हिसावले पर्वत उत्कृष्ट जिल्ला बदै गएको बताउनुभयो । ढकालले पर्वत पर्यटन, जलविद्युत र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना र जिल्लाको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्वतको विकासका लागि गुरुयोजना तयार गर्न आग्रह गर्दै आफुले समेत साझेदारी गर्न तयार रहेको बताउनुभो ।

कार्यक्रममा संविधानसभा सदस्य विकास लम्साल, नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादवी शर्मा, नेकपा एमालेका अध्यक्ष राजु पौडेल, माओवादी केन्द्रका जिल्ला सचिब उमाकान्त भुर्तेल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, गुप्तेश्वर धार्मिक पर्यटकीय संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्मा लगायतले बोल्नुभएको थियो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारीको अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमको संचालन महासचिब रमेश लामिछानेले गर्नुभएको थियो । धन्यवाद मन्तव्य ठाकुरवि पौडेलले राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!