
पर्वत १८ साउन ः पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित गायत्री टोलमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन अर्थात ‘किङ कोब्रा’ भेटिएको छ ।
स्थानीय राम शर्मा अधिकारीको टौवामा शुक्रवार विहान ९ बजे किङ कोब्रा भेटिएको हो । किङ कोब्रा भेटिएको खबरपछि डिभिजन वन कार्यालय पर्वत तथा पोखरावाट आएका सर्प विज्ञ सुदर्शन पौडेल र प्रविन पाण्डेको टोलीले नियन्त्रणमा लिएको छ । किङ कोब्रालाई नियन्त्रणमा लिएपछि सुरक्षित स्थानमा छाडिएको डिभिजन वन कार्यालय पर्वतका सुचना अधिकारी रामबहादुर विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सर्प ११ फिट लामो रहेको छ । अन्दाजी तीन वर्षको उमेरको रहेको विकले जानकारी दिनुभयो । सर्प विज्ञ पौडेलका अनुसार पर्वतको ज्ञादी क्षेत्र किङ कोब्राका लागि उपयुक्त स्थान रहेको पाईएको छ । खोला किनार र वनजंगल भएको ठाउँ भएकाले यो क्षेत्रमा किङ कोब्राको संख्या थुप्र्रै हुनसक्ने उनिहरुको अनुमान छ ।
यस अघि दुई पटकसम्म सोहि क्षेत्रमा देखिएको थियो भने कुश्मा नगरपालिका वडा नं. ११ पकुवा र वडा नं. १२ ठुलीपोखरीमा पनि किङ कोब्रा भेटिएको थियो ।
यो समुद्री सतहदेखि दुई हजार मिटरदेखि दुई हजार पाँच सम्मको उचाइमा पाइने गरेको बताइन्छ । यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने विज्ञहरुले जनाएका छन् ।