पर्वतमा गण्डकी प्रदेश स्तरीय छेलो हान्ने प्रतियोगिता हुँदै  - News site from Nepal
पर्वत १६ भदौ ः पछिल्लो समय लोप हुँदै गएको मौलीक छेलो हान्ने खेलको गण्डकी प्रदेश स्तरीय  प्रतियोगिता पर्वतमा संचालन गरिने भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जिल्ला खेलकुद विकास समिति पर्वतले छेलो हान्ने प्रतियोगिता आयोजना गरेको हो । गण्डकी प्रदेश खेलकुद परिषदको आर्थिक सहयोगमा आगामी भदौ २१ गते  पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा प्रतियोगिता गर्न थालिएको हो । स्थानीय कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाले आयोजना गरेको दोस्रो तीज मेलामा छेलो हान्ने प्रतियोगितालाई पनि समावेश गरिएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट खेलाडीहरु सहभागि हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङका अनुसार परम्परागत खेलको रुपमा रहेको छेलो फाल्ने प्रतियोगितालाई प्रवद्र्धन तथा पर्वतको खेल पर्यटनको विकासका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी स्थित बाटुलेचौरमा आयोजित तीज मेलाको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. दश हजार र प्रमाणपत्र, द्धितिय हुनेलाई रु. सात हजार पाँच सय र तृतियलाई रु. पाँच हजार रुपैया पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
गण्डकी प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको महत्व दिँदै आएका छन् । मौलिक खेल ठेलो परापूर्वकालदेखी सञ्चालन हुँदै आएकामा पछिल्लो समय लोप हुँदै गएपछि छेलो हान्ने खेलको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिउको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गाउँघरमा मेला महोत्वस तथा चाडबाडको समयमा खेलिँदै आएको छेलो खेललाई आधुनिक तरिकाले परिमार्जित गर्दै नियमसमेत बनाएर प्रतियोगिता आयोजना गर्न लागेका छौँ ।’ कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाले आयोजना गरेको दोस्रो तीज मेलामा छेलो हान्ने प्रतियोगिता सँगै खुल्ला तीज गित प्रतियोगिता, विद्यालय स्तरीय तथा खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!