विदेशिँदाको पीडा - News site from Nepal
विदेशिँदाको पीडा
  • कमला केसी

छुट्टिनु पनि यसरी पर्छ भन्ने किन सोचिन बा मैले ? मत हजुरको धेरै नजिक थिएँ जस्तो लाग्थ्यो । एकैछिन अगाडि भिडियो कलमा तपाईंसँगै बोल्दै थिएँ ।

विदेशिँदाको पीडा
सबै जना खुसी हुँदै जिस्किदै बोल्दै थियौँ । खै के व्यस्तता आईलाग्यो, मैले फोन राखे । यस्तो हुन्छ भन्ने के थाहा पाउनु र ! सायद अन्तिम भेट त्यही हो भन्ने भएको भए म कहाँ छुट्टिने थिएँ र !

 

कस्तो झुक्किएछु बा म । हजुरको जन्मदिन भोलिपल्ट थियो । जन्मदिनलाई विशेष बनाउने मेरो धोको थियो । यो पटकको जन्मदिनमा केहि न केहि विशेष गर्छु भन्ने थियो । आफ्नो जन्मदिनलाई वास्तै नगर्ने हजुर यसपालि खै किन हो,हप्तादिन अघिदेखि उत्साहित हुनुहुन्थ्यो । जन्मदिनमा बाजा बजाउने र सबैलाई खाना खुवाउने मात्र नभई विद्यालयमा सहयोग गर्ने थुप्रै योजना हामीलाई सुनाउनु भएको थियो । जसले गर्दा हामी सबै उत्साहित थियौं । मेरा पनि योजना थिए, हजुरको यसपालिको जन्मदिन विशेष बनाउला भन्नेमा थिएँ ।

जन्मदिनमा केक काट्नु न भन्दा नमान्ने, कर गर्दा रिसाउने हजुर यो पटक आफैं उत्सुक हुनुहुन्थ्यो । तर हामीलाई झुक्याउनुभयो । हामीलाई अचानक छाडेर जानुभयो । कहिल्यै नफर्किनेगरी, कहिल्यै नभेट्नेरी, कहिल्यै नदेखिनेगरी । तर यो कुरा मनले मान्नै तयार छैन । सबै परिस्थितिले घेरेर सबै कर्म गरे । तर पटक्कै मनले स्विकार्न मानेको छैन । कतिबेला मलाई बोलाउने नामले बोलाउनुहुन्छ कि जस्तै लाग्छ । छरछिमेकी ईस्टिमत्र चिन्ने जान्ने सबैको भिडमा मेरा आँखाले हजुरलाई मात्रै खोजिरह्यो ।

बा ! परदेश हुनुको पीडा त अहिले पो बुझ्दै छु । कस्तो दुर्भाग्य । हामी परदेशिएको रहरले होईन । थुप्रै बाध्यताले हाम्रो साथ पाउनुपर्ने बेलाका बा–आमा,रोगी शरीर छोडेर हिंड्नुपरेको छ । घर परिवार र देशको परिस्थिति सबै परिबन्दले बाँधिएपछि के नै लाग्दो रहेछ र ! देशको अवस्था, जनताको जीवनशैली र मानसिकता, शैक्षिक, आर्थिक, न्यायिक, प्रशासनिक र सामाजिक व्यवस्था सबैले खेदेर देश छोडेर परदेशिनुको विकल्प नहुने रहेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा म जस्ता कति हो कति दाजुभाई दिदिबहिनीहरुको दैनिक देश छोड्न घुइँचो लाग्छ । तर यो रहरले होइन । घरको अवस्था र देशको परिस्थितीका कारण बाध्यताले घर छाड्नु परेको हो । बा–आमासँगै बस्न कसलाई रहर हुँदैन ? कसको चाहना हुँदैन ? वैदेशिक रोजगारीका लागि घर,गाउँ र देश छाड्नुको पीडा विदेशिनेलाई मात्र थाहा छ । त्यो घरको परिवारलाई मात्र थाहा छ । केवल भाषणको भरमा देश चलाउने नेतालाई विदेशिनेको पीडा के थाहा ? रोगी बा–आमालाई छाडेर जानुको पीडा उनीहरुलाई के थाहा ?

देश बनाउँछौं भनेर आएकाहरुले झन देश बिगार्दै गए । देशका युवाशक्ति विदेशिएर श्रम बेच्न बाध्य छन् । देशलाई कुन्नि के-के बनाउँछौं भनेर भाषण गर्नेहरु रेमिटेन्सकै भरमा बाँच्न पाउँदा मख्ख छन् । यो देशमा अब बृद्व र बालबालिका मात्रै रहने भए । तर म जस्तै आफ्नो बालाई अन्तिम पटक हेर्न देउ भन्नपनि नपाउने धेरै हुने भए ।

बा ! यदि साँच्चै नेपाली नेताहरुले बोल्ने भाषणलाई व्यवहारमा उतारिदिन्थे भने त आज रोजगारीसँगै उचित तलब र सेवा सुविधा हुन्थ्यो । काम अनुसारको मुल्यांकन हुने भए सायद विदेशिने नेपालीको भिड कम हुन्थ्यो । परिवर्तन गर्छौं भनेर अगुवाई गर्नेहरुले गरे के पो नहुने छ र !

हिजो नेपाल टुकी बत्तीको भरमा उज्यालो हुन्थ्यो । अहिले केही प्रतिशत भएपनि विद्युतीय उज्यालो त छ । हजारौं वर्षसम्म प्रयोग मात्र गरिरहे पनि पुग्ने स्रोत साधन प्रशस्त छ । नेपालमा नै केही गर्नसक्ने वातावरण सिर्जना गरिदिए मात्रै पनि हुने थियो । रेमिट्यान्सका लागि मात्र युवा शक्ति पलायनमा जोड दिने नेपाली नेतृत्वप्रति धिक्कार छ ।

हामी धेरै नेपालीहरूमा दर्दनाक पीडा बिडम्बना र उदेकलाग्दो अवस्थाहरू छन् । सामान्यभन्दा पनि सामान्य आवश्यकता पुरा गर्नकालागि मात्र पनि विदेशिनुपर्ने काहालीलाग्दो परिस्थिति छ । बा ! म पनि त्यही भिडमा छु । कहिले परिस्थिति बदलिएला अनि आफ्नै देश फर्कौंला भनेर कुरेको पनि वर्षौं बितिसक्यो । खै, अहिलेको परिस्थिति हेर्दा त्यो सम्भावना पनि देखिएको छैन ।

दुनियाँका अगाडि सन्तानको गुहार केही लागेन । सायद छोरी भएर पनि होला अझै समाज बदलिन सकेको रहेनछ सन्तान छोरा होस् या छोरी अन्तिमपटक शरीर भएपनि सुम्सुमाउने इच्छा सबैको हुन्छ । यो समाजले पनि बुझ्न सकेन, मरेपछि फालि हाल्नुपर्छ भन्ने सोच हुँदोरहेछ । तर यत्रो वर्षसम्म एउटा सन्तान र पिताको भावनात्मक सम्बन्ध कसले बुझिदिने । अन्तिमपटक भएपनि भेटोस् भनेर कसले बुझिदिने, भारी मन लिएर अन्तिमपटक भएपनि भेट्छु होला भन्ने थियो । तर बितेको खबर सुनेको ४८ घन्टामा नेपाल आइपुग्दा पनि भौतिक शरीर भेट्न पाईन । छन त म सँग आमा,दाजु–भाई, दुई दिदी र एक बहिनी पनि छन, तर तपाईंको अभाव खड्किइरहेको छ ।

सायद मेरै दुर्भाग्य हुनुपर्छ, सबैको कुरा सुन्छु लेखेको हुन्छ भन्थे, सायद अन्तिम पटक बालाई भेट्न लेखेकै रहेनछ । दोष पनि कसलाई दिनु, जीवनयापनका लागि म परदेशीन पुगेँ । अन्तिम अवस्थामा सँगै हुन सकिन । यो जुनीमा यस्तै भयो बा ! अब केवल मसँग हजुरको अमूर्त तस्बिर र यादहरु बाहेक केही रहेनन् । तपाईंले देखाएको बाटो,दिएको शिक्षा र मार्गदशैन सँधै शिरोपर गर्ने नै छु । यदि अर्को जुनि पाईन्छ भने फेरि हजुरकै छोरी भएर जन्म लिन पाउँ । यो जुनीमा नदेखेरै नभेटेरै हातै नहल्लाईकन बिदाई गर्दैछु । यी केही हरफहरू लेख्दै गर्दा आँखाको कुनाबाट निस्केको आँसुले थप लेख्न नसक्ने भएकी छु । अलबिदा बा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!