एमालेको संकल्प यात्रा आजबाट शुरु हुँदै - News site from Nepal
एमालेको संकल्प यात्रा आजबाट शुरु हुँदै

बैतडी- नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज बिहीबारदेखि शुरु हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा बिहान ८ बजे नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ । त्यसपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथचन्द, बलदेब रिचपलेको सालिकमा माल्यार्पणको कार्यक्रम रहेको छ ।

बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ ।

संकल्प यात्राअघि बुधबार पाटनमा आयोजना गरिएको अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो । बुधबारनै देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरुसँग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुनुभएको थियो । रातिनै नेकपा एमाले बैतडीको पार्टी कार्यालय पनि अध्यक्ष ओलीले ओलीले उद्घाटन गर्नुभएको थियो ।

एमालेको आजबाट शुरु हुने संकल्प यात्राको पहिलो दिन अमरगढी पुगेर समापन हुनेछ । त्यस्तै, दोस्रो दिन अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ । तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मङ्गलसेन पुगेर समापन हुनेछ । चौथो दिन मङ्गलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ ।

१८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । एमालेले यो यात्रालाई आगामी चुनाव केन्द्रित अभियानको रुपमा लिएको छ । यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!