पर्वत अस्पतालमा आमाघर संचालन - News site from Nepal
पर्वत अस्पतालमा आमाघर संचालन

पर्वत – पर्वत अस्पतालमा प्रसुति पतिक्षा गृह (आमाघर) स्थापना गरिएको छ । सुरक्षित रुपमा सुत्केरी हुने सेवाको पुहँच नहुँदा मातृशिशु मृत्युदर बढ्दै जान थालेको तथ्यांकलाई मध्यनजर गर्दै पर्वत अस्पतालमै आमाघर स्थापना गरिएको हो ।
पर्वत अस्पतालमा टाढाबाट प्रसुतीका लागि आउने महिला दिदीबहनीहरुलाई सुरक्षित सुत्केरी व्यवस्थाका लागि प्रसूति प्रतीक्षा गृह (आमाघर) निर्माण गरिएको पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
गर्भवतीको अवधि पुरा भएर प्रसुतिका लागि पर्वत अस्पतालमा आउने महिला दिदीबहीनीलाई सोहि घरमा राखिने छ । उनिहरुका लागि सुत्केरी नहुने बेला सम्म र भैसकेपछि पनि घर नफर्किने बेला सम्म निःशुल्क खानबस्नको व्यवस्था गरिएको छ । चिकित्सकहरुको निगरानीमा आमाघरमा राखिदा थप जोखिम नहुने र स्वास्थ्यको दृष्टिले आमा र बच्चा दुवै सरक्षित रहने उहाँले बताउनुभयो ।
सुत्केरी हुनुभन्दा पहिले र पछि पनि आमाघरमा खानेबस्ने सुविधा हुँदा गरिब तथा असहाय महिलाहरुलाई स्वास्थ्य सेवा लिन सहज हुने अध्यक्ष गिरीले जानकारी दिनुभयो । हाल एक पटकमा ४ जनासम्म गर्भवती तथा सुत्केरी दिदीबहिनीलाई खानबस्नको व्यवस्था गरिएको छ भने पछि यसलाई सेवा विस्तार गर्दै जाने अध्यक्ष गिरीले बताउनुभयो ।
आमाघर निर्माणपछि सुत्केरी अवस्थामा स्वास्थ्य उच्च जोखिममा रहेका दिदीबहिनीहरुले निःशुल्क खानेबस्ने र स्वास्थ्य सेवा पाउँदा मातृशिशु मृत्युदर समेत घट्ने जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले बताउनुभयो । डाक्टर बाँस्तोलाका अनुसार जिल्ला अस्पतालमा गत वर्ष सुरक्षित सुत्केरी सेवा लिनेको सङ्ख्या तीन सय ८७ जना थियो । सो मध्ये ९७ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराईएको थियो भने अन्यको सामान्य अवस्थामा भएको थियो । चालु आर्थिक वर्षमा अस्पतालमा सुरक्षित सुत्केरी सेवा लिनेको संख्या १४० छ । यसमध्ये ३९ जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
यसैबीच पर्वत अस्पतालमा संचालन गरिएको प्रसुति प्रतिक्षा गृहको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले उद्घाटन गर्नुभएको छ । शुक्रवार आयोजित एक समरोहका बीच आमाघरको उद्घाटन गर्दै सिंखडाले गण्डकी प्रदेशमा मातृशिशु मृत्युदर शून्यमा झारिने दावी गर्नुभयो ।
स्वास्थ्य मन्त्री सिंखडाले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार र व्यवस्थित बनाउन आफुले निरन्तर प्रयास गरिरहेको बताउँदै ११ वटै जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेट नियुक्ति गरि गुणस्तरीय सेवा दिन सफल भएको बताउनुभयो । उहाँले प्रदेशमा ९०० जना डायलाइसिसका बिरामी प्रतिक्षामा बसेको अवस्थामा अहिले त्यो संख्या ३०० मा झरेको बताउँदै अझ वास्तविक तथ्यांक आउँदा झनै कम आउने दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!