पर्वत- नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्न नसकेको आरोप लगाएका छन ।
‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत ८ औं दिन पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहद जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुक चौतर्फि संकटमा पर्दै गएको भएपनि अहिलेको गठवन्धन सरकार गैरजिम्मेवार बनेको बताए । देश बर्बादिको दिशातर्फ अघि बढ्दै गएको छ अध्यक्ष ओलीले भने-‘मुलुकमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने जस्ता काम यो सरकारवाट भएका छन् ।’ मुलुकमा सरकार भए नभएको जनतालाई कुनै अनुभूति नै हुन नसकेको उनको भनाई छ । यो सरकार इतिहासकै असफल सरकार भएको उनको भनाई छ ।
उनले यहि सरकार रहिरहे देश बर्बाद हुँदै जाने बताए । यो सरकार आफुले पनि काम नगर्ने र अरुलाई पनि गर्न नदिने खालको रहेको बताउँदै आफ्नो पालामा शुरुवात गरेका कामहरु अहिलेको सरकारले लथालिङ्ग पारिदिएको समेत आरोप लगाए । उनले यो सरकार बनेपछि एक इन्चपनि सडक बनाउन नसकेको बताउँदै न विकास निर्माण गर्छ, न उद्योग कलकारखाना खोल्छ, उल्टै पुराना उद्योगहरु समेत बन्द गर्न थालेको बताउनुभयो ।’उनले सरकारले जनतालाई महंगीको दलदलमा फसाईरहेको बताउँदै यहि अवस्था रहिरहे सडकवाटै जनताले सरकारको विकल्प खोज्ने बताए । यहि अवस्था रहिरहे मुलुकको अस्तित्व समेत खतरामा पर्ने उनको भनाई थियो ।
अध्यक्ष ओलीले नेपालको हितको निम्ति जो सुकैसँग सहयोग लिन एमाले सफल रहेको बताउँदै अहिलेको सरकार कसैसँग पनि सहयोग लिन नसक्ने बताए । उनले चीनसँगको बिआरआई परियोजना समेत अलपत्र पारेको बताए । उनले जनताको पिडा यो सरकारले देख्न नसकेको बताउँदै भुकम्प पिडितले एक महिना वितिसक्दा समेत राहत नपाउनु दुःखद विषय भएको बताए ।
अर्को प्रसंगमा उहाँले नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने बताउनुभयो । जसरी अब वि.सं. २०६५ साल इतिहासमा फर्किन सक्दैन त्यसैगरी अब राजतन्त्र पनि फर्किन नसक्ने बताउँदै २०६५ सालमै राजतन्त्रको अन्त्य भैसकेको बताए । राजतन्त्र फकाउने फण्डाबाजी गर्नेलाई सरकार टुलुटुलु हेरेर बसिरहेको उनको भनाई छ ।
ओलीले मिसन-०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे । मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए ।
संकल्प यात्रामामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरे उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, सरेन्द्र पाण्डे, रामबहादुर थापा सहित महासचिव शंकर पोखरेललगायतका नेताहरु सहभागि भएका थिए ।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद पदम गिरीले पर्वतको विकास निर्माण तथा अन्य आयोजनाहरुको मागपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत उपाध्यक्ष पदमपाणी शर्मा र संचालन सचिब गोविन्द पहाडीले गरेका थिए । संकल्प यात्रको स्वागतका लागि गाउँ गाउँदेखि दशौ हजार नेता कार्यकर्ता सहभागि भएका थिए ।