पर्वत – सहकारी संस्था मार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका ८ जना संचालक पक्राउ परेका छन् ।
सदरमुकम कुश्माबजारमै संचालित तपाई हाम्रो बहुउद्धेश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालका अनुसार तपाई हाम्रो बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिब विकास विश्वकर्मा र सहसचिब ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी, पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपती आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य संचालकहरुको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगि गरेको कसुरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतवाट पाँच दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरी प्रमुख भुसालले जानकारी दिनुभयो । सहकारी रजिष्टारको कार्यालय पोखरावाट विज्ञ बोलाएर पनि अनुसन्धान भैरहेको छ ।
यस अघि दुवै सहकारीका बचतकर्ताहरुले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले केहि दिन पहिले सुचना जारी गर्दै दुवै सहकारीका बचतकर्ताहरुलाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मुद्धति प्रमाणपत्र लगायतका सक्कल कागजात सहित प्रहरी कार्यालयमा आउन समेत सुचित गरेको थियो ।