पर्वतको मल्लाज स्थित विद्याज्योतीमा १० कोठे भवन निर्माण सम्पन्न - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका वडा नं. ३ मल्लाज स्थित विद्याज्योति माबिमा १० कोठा भएको भवन निर्माण भएको छ ।
विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले बिद्यालयको भवन बनाउन संस्थाले गाउँपालिकालाई रु. एक करोड २९ लाख ७८ हजार १५६ उपलब्ध गराएको जानकारी दिनुभयो ।
‘विकास वेल्जियमको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत लागत साझेदारीमा एक वर्षअघि थालिएको भवन निर्माणको काम सकिएको छ,’ उहाँले भन्नुभयो ‘सम्झौता अनुसार संस्थाले गाउँपालिकालाई सहयोग उपलब्ध गराइसकेको छ ।’ रु. दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि वि.स. २०७८ साउन ५ गते त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरीङले कर सहित रु. एक करोड ६० लाख ७२ हजार ९७२ मा ठेक्का सम्झौता गरेको थियो ।
पुरानो भवन जिणर् भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र बिकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको थियो । कक्षा १२ सम्मको पठनपाठन हुने बिद्यालयमा २७० जना भन्दा बढी बिद्यार्थी छन् ।
समन्वयकर्ता बरुवालले विकास नेपाल वेल्जीयमका अध्यक्ष वेट्टरी मौरीयक्स लगायत पदाधीकारी, सदस्य र दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । बि.स. २००४ मा स्थापना भएको बिद्याज्योति धवलागिरी क्षेत्रकै पुरानो बिद्यालय मानिन्छ ।
विकास बेल्जियमले यसअघि पर्वतको वारीवेनी स्थित कालीपुल देखि डिलफाँट हुदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवत जावतमा सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!