आगामी निर्वाचनबाट काँग्रेस पहिलो दल बन्छ ः केन्द्रीय सदस्य देउवा - News site from Nepal

पर्वत – नेपाली काँग्रेसका केन्द्रिय सदस्य आरजु राणा देउवाले आगामी प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा नेपाली काँग्रेस अत्यधिक मतका साथ विजयी हुने दावी गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी भएका पर्वतका स्थानीय तहका प्रमुख तथा वडाध्यक्षहरुको सम्मानमा नेपाली काँग्रेस पर्वतले आज कुश्मामा आयोजना गरिएको कार्यक्रममा बोल्दै देउवाले नेपाली काँग्रेस नहुँदा देश पछाडी परेको कुरा जनताले बुझेकाले काँग्रेस लाई अवको निर्वाचनमा अत्यधिक मत ल्याउन कठिन नभएको बताउनुभएको हो । उहाँले कम्यूनिष्ठको हातमा देश पुग्दा विभिन्न समस्याले गाँजिएको र काँग्रेसको हातमा सत्ता आउँदा देशका समस्या हल भएको उदाहरण दिँदै मुलुकको विकास र जनताको सर्बोच्चताका लागि काँग्रेस आवश्यक रहेको दाबी गर्नुभयो ।
निर्वाचित जनप्रतिनिधीहरुलाई जनअपेक्षा अनुसारका काम गर्न देउवाले सुझाव दिनुभयो । चुनावमा टिकट पाउनु र नपाउनु प्राविधिक कुरा भएको बताउँदै देउवाले टिक पाएर जितेका प्रतिनिधीलाई पार्टीका सबै तहका नेता कार्यकर्ताहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी प्रणाली र काम गर्ने प्रक्रियामा झन्झट हुँदा बिकासका काममा ढिलाइ हुने गरेको पनि बताउनुभयो । सरकारको काम कहिले जाला घाम भन्ने उखान जस्तै हाम्रो प्रणाली कमजोर रहेको भन्दै यसमा सुधारको खाँचो औल्याउनुभयो । नेपालमा सरकारी काममा हुने गरेको ढिलाइ हाम्रो पुरातन प्रणालीकै कारण भैरहेको देउवाको भनाई छ । सामाजिक सन्जालमा आउने सूचना र जानकारीहरुमा विश्वसनियता हुनुपर्ने पनि उहाँले बताउनुभयो ।
पूर्व केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले एकले अर्कोलाई आलोचना गर्ने कुराले कहिल्यै नेता बन्न नसकिने बताउनुभयो । जनप्रतिनिधीहरु लाई असल काम गरेर देखाउन पनि उहाँले सुझाव दिनुभयो । जीवन्त पार्टीमा छलफल र वहष हुने भएपनि एकले अर्कोलाई हिलो छयाप्ने तरिका अपनाउन नहुने जोशीको भनाई छ । उहाँले जनप्रतिनिधीहरुलाई जनताको बिचमा पुग्न र उनीहरुका कुरा सुन्न आग्रह गर्नुभयो । नेता जोशीले पार्टीका उम्मेदवार लाई असहयोग गर्ने र अवरोध गर्ने नेताले आत्मासमिक्षा गर्नुको बिकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जनप्रतिनिधीहरुले पार्टीको सल्लाह अनुसार काम गरेको भन्दै बेलाबेलामा जनप्रतिनिधीहरुलाई पार्टीको निर्देशन नमानेको आरोप आउँदा दुख लागेको बताउनुभयो । पार्टीको निर्देशन अनुसार जनप्रतिनिधीहरुले काम गर्दै आएको जोशीले दाबी गर्नुभयो ।
कार्यक्रममा तरुण दलका केन्द्रिय अध्यक्ष बिद्धान गुरुङ, गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ, प्रदेश सदस्य यामबहादुर मल्ल, पूर्व सांसद ऋषिकेश तिवारी, पूर्व सभापति खिमप्रसाद भुसाल, नवराज गुरुङ, जिल्ला सचिव अशोक उचै ठकुरी, महाधिबेशन प्रतिनिधि मुना भुसाल,महाधिवेशन प्रतिनिधि राधाकुमारी कुवर क्षेत्री, फलेवासका मेयर गङगाधर तिवारी, जलजलाका अध्यक्ष राजु आचार्य, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, विहादीका अध्यक्ष परविन गुरुङ, प्रदेश क का सभापति राजकुमार क्षेत्री, पैयुँका सभापति डम्बर प्रधान, पैयुँ ७ का वडाध्यक्ष तोयानाथ भुसाल, मोदी ६ का वडाध्यक्ष दिपेन्द्र जंग लामिछाने, नेविसंघका जिल्ला अध्यक्ष सन्तोष पाठकले बोल्नुभएको थियो ।
नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशीको सभापतित्व, उपसभापति शिवप्रसाद सुबेदिको स्वागत तथा जिल्ला सचिव गुप्तनिधी शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!